काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षले पनि मेरो सरकार भन्न सुझाव दिएका छन् ।
संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे ।
प्रधानमन्त्रीले लोकतन्त्रप्रति नै गम्भिर प्रश्न उठेको भन्ने प्रश्नको जवाफ दिँदैँ भने, ‘लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रताको अर्थमा मात्रै बुझ्ने गल्ती नगर्ने, लोक भनेको जनता र तन्त्र भनेको व्यवस्था शासन हो । जनताको शासनले जनताका सम्पूर्ण पक्षहरु, जनताका आवश्यकता, अधिकार जनताले प्राप्त गर्नुपर्ने सुविधा, सहुलियत, अवसर, सुरक्षा र सम्मान, सामाजिक न्याय लगायत समुचित न्यायलाई समेटेर, भविष्यको निम्ति सबै मानवजाति र धर्तीको निम्ति लोकतन्त्रलाई पूर्ण प्रयोग गरेको छ ।’
प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे उठेका प्रश्नहरुको पनि ठट्यौली शैलीमा जवाफ दिए । ‘माननीयहरुलाई अचम्म लागेको छ । सपना रातिमात्र देखिने कुरा हो भन्ने लागेको छ । यहाँ राति देख्ने सपनाको कुरा गरेको होइन, जागै देखिने सपना हुन् यी । सहिदका सपना भनेको राति देखिने सपना हुन् ? राति देख्ने सपना होइन, देश बनाउने सपना देखेको हो । एक बर्षका लािग के–के गर्न सकिन्छ र त्यस वर्षपछि कति के गर्न सक्छौ । दीगो विकासको सपना राति निदाएर देखेको सपना हो ? सपना मात्रै बोकेको छैन, संकल्प पनि लिएको छ र अठोट पनि लिएको छ । नीति तथा कार्यक्रमले’ प्रधानमन्त्री ओलीले जवाफ दिए । उनले नीति तथा कार्यक्रमले जनप्रतिनिधिलाई मजबूत बनाउने बाटो लिएको दावी पनि गरे ।
‘जन्मसिद्ध, जनताद्धारा निर्वाचित व्यक्ति, निकाय संस्थाहरुको मान्यता हुने तर गरिमा नहुने मानसिकता देखिन्छ । हामीले त्यस्तो मानसिकता ल्याउनुभएन । जनताद्धारा चुनिएका जनप्रतिनिधिभन्दा स्वघोषित कोही सम्मानित हुँदैन’ प्रधानमन्त्रीको भनाई छ । ‘यो जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौ । संशोधन गर्नुपर्ने कुराहरु केही छन् कि भन्ने लागेको थियो । तर त्यस्तो केहीँ देखिँन । उहाँहरु सबैकुरा पनि आएको छ, तर केही पनि छैन भन्नुहुन्छ । धेरै कुरा आएको छ’ खासगरी केही विषयहरुमा बुझाइमा समस्या रह्यो कि जस्तो आफुले महशुस गरेको प्रधानमन्त्रीले बताए । उनले संविधान संशोधन अपरिवर्तनीय नभएको भन्दै आवाश्यक्ता र औचित्यताका आधारमा संशोधन गर्न सकिने बताए ।
खन्यो पहाड निस्क्यो मुसो
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमपछि सवैभन्दा वढि ध्यान ‘मेरो सरकार’ मा गएको आफुलाई महशुस भएको बताए । ‘खन्यो पहाड, निक्ल्यो मुसो’ भने जस्तो भयो । अचम्म लाग्यो, यो दुनियाँभरको प्राक्टिस् हो । पोहोर थिएन भन्नुहुन्छ, हामी अभ्यास गर्दैछौँ । हाम्रा अभ्यासहरु कतिपय मिलेका छैनन् । ती अभ्यासलाई मिलाउँदै जानुपर्छ । यो बर्ष मेरो सरकार भन्ने मिल्यो । अर्कोपटक अरु धेरै मिल्नुपर्छ’ मेरो सरकार ‘प्राक्टिस’ भएको पनि प्रधानमन्त्रीको भनाई थियो ।
‘साथीहरु आँफै भन्नुहुन्छ, भारतमा राष्ट्रपतिले मेरो सरकार भन्नुहुन्छ, उहाँ पनि सम्मानित राष्ट्रपति हो, कार्यकारी होइन । भारतको संविधानमा पनि राष्ट्रपतिले मेरो सरकार भन्नु भनेर लेखेको छैन । विपक्षी दलका नेताले भन्नुभयो–बेलायतका महारानीको जस्तो सम्बोधन भनेर । उहाँले प्रयोग गरेको त्यो शव्दावली उपयुक्त भएन कि भन्ने म ठान्छु । किनभने बेलायत हाम्रो मित्रराष्ट्र हो । बेलायतका महारानीलाई नकारात्मक टिप्पणी गर्न बान्छनीय हुँदैन । उहाँहरुको आफ्नो परम्परा र तरिका छ । त्यस्तै नराम्रो यहाँ भयो भन्ने अर्थमा बोल्नु कुटनैतिक हुदैँन । त्यता ध्यान दिनुपर्छ’ प्रधानमन्त्रीले सजग गराए ।
प्रणव मुखर्जीको उदाहरण
सबै देशमा आफ्नो आफ्नो सिस्टम हुने भन्दै उनले हाम्रो देशमा पनि गणतन्त्रात्मक पद्धति रहेको प्रस्ट्याए । ‘म दृष्टान्त दिन्छु । प्रणव मुर्खजी जिन्दगीभरि काँग्रेस रहनुभयो । काँग्रेसबाटै मन्त्री, काँग्रेसबाटै राष्ट्रपति हुनुभयो । विजेपीको सरकार बन्यो । त्यसपछि पनि उहाँले माई गर्भमेन्ट भनेर सम्बोधन गर्नुभयो । यो चलन हो दुनियाँको । यहाँ साथीहरुले संविधानका धारा–धारा पढ्नुभयो, त्यो राम्रो । हामीले संविधान कार्यान्वय गर्नुछ, त्यसकारण पढ्ने बानी गर्नुपर्दछ । तर, पढ्दा अर्कै अर्थ लाग्ने गरी व्याख्या गर्नु हुँदैन’ प्रधानमन्त्रीको कार्यकारी अधिकार नेपालको राष्ट्रपतिमा किञ्चित छैन भन्ने कुरा गलत रहेको प्रधानमन्त्रीको भनाई थियो । ‘हाम्रो गरिमामय संसदले पारित गरेका कानुनलाई राष्ट्रपतिले दस्तखत गरेपछि कानुन बन्छ ।
सेना परिचालन राष्ट्रपतिबाट हुन्छ ।, मन्त्रिपरिषद्ले सिफारिस् गरेका कुराहरु राष्ट्रपतिबाट सदर भएपछि अन्तिम सदर हुन्छ । राष्ट्रपति भनेको केहि पनि होइन भन्ने होइन । राज्य व्यवस्थाको सर्वोच्च, सम्मानित र अभिभावकीय संस्था हो । त्यो संस्था साझा हुन्छ । त्यसकारण कुन पार्टीको सरकार बन्यो, कसले नेतृत्व गर्यो भनेर मेरो भन्ने कि नभन्ने भन्ने हुँदैन । जसको बनेपनि राष्ट्रपतिको मेरो सरकार हुन्छ’ प्रधानमन्त्रीले नेपाली काँग्रेस लोकतन्त्रको लामो इतिहास भएको पार्टी भन्दै भर्खर बनेको पार्टी नभएको बताए । ‘यो पार्टीले पनि लोकतन्त्रका सन्दर्भमा साह्रै आलोकाँचोपन देखाउन मिल्दैन । त्ययतर्फ साथीहरुले विचार गर्नु वाञ्छनीय हुन्छ’ उनको सुझाव थियो ।
‘मेरो सरकार शव्द भुलचुकले परेको होकी भन्नुभयो । त्यो भुलचुकले होइन । सुविचारित ढंगले जानि बुझिकन राखिएको र आवश्यक शव्दावली हो । राजामहाराजाले मेरो भन्ने, जनताको प्रतिनिधि निर्वाचित सरकारलाई अपनत्व नलिने । अथवा त्यो मेरो सरकार हो भनेर नभन्ने राष्ट्रप्रमुखको हैसियतले मेरो सरकार भनेर सम्बोधन गर्नुपर्छ । नत्र तिमी तपाई केही पनि नभन्ने । राष्ट्रपतिले ढुक्कले भन्ने हो मेरो सरकार, मेरो देश...। नयाँ कुरै होइन’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने, ‘राष्ट्रपतिले आफु मातहतको सरकारलाई मेरो सरकार भन्नु एकदम ठिक छ ।
यसमा अलमलिनु हुँदैन । साथीहरुलाई के लाग्यो भने निरङ्कुशतन्त्रमा मेरो सरकार भन्नु ठिकै हो । त्यसबाहेक लोकतन्त्रमा मेरो सरकार भन्न पाँइदैन भनेजस्तो देखियो । हामी सबैको सरकार हो । त्यसकारण प्रतिपक्षीलाई आफ्नो सरकार भन्न गाह्रो हुन्छ होला, नेपाल सरकार भन्न सहज छ । प्रतिपक्षीले पनि यो सरकारलाई आफ्नो सरकार भने हुन्छ । अब बजेट हेर्नुहोला प्रतिपक्षीका लागि कति काम हुन्छ । अनि आफ्नो सरकार भन्न के फरक पर्र्यो ?’ रातोपाटीबाट