काठमाडौं । पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ।
हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ।
कम्पनीले साबिकको बसपार्क रहेको स्थानमा हाल काठमाडौं भ्यु टावर निर्माण गरिरहेको छ। अस्थायी बसपार्कभित्रको स्थानमा ठेकेदारले ४२ भन्दा बढी सटर निर्माण गरी पसल सञ्चालन गर्न थालेको हो।
कम्पनीले सटर भाडामा लगाउने क्रममा समेत टेन्डर आह्वान र बिल भर्पाइबिना नै पसल बिक्री गरी चलखेल गरेको पाइएको छ। व्यापारीका अनुसार ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरिएका छन्।
सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म रहेको उनीहरू बताउँछन्। सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी छन्। उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए। सटर खरिदमा करिब ३ करोडको चलखेल भएको स्रोतको दाबी छ।
कम्पनीको सटर भाडामा लगाएर रकम असुल्ने प्रक्रियालाई स्थानीयले खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल भएको दाबी गरेका छन्।
अस्थायी संरचना निर्माण गरी स्थान दिँदा भविष्यमा हटाउन गाह्रो पर्ने र यसबाट खुलामञ्च नै मासिने स्थिति आउनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
यता ठेकेदार कम्पनीले भने तीन वर्षसम्मको सम्झौता रहेकाले अनिवार्य बन्नुपर्ने संरचनाबाहेकका अस्थायी संरचना निर्माण गरी भाडामा लगाइएको जानकारी दिएको छ। राजधानी दैनिकबाट