काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसित वार्ताको ढोका खुल्ला राख्दै दोस्रो चरणको संघर्षलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
राप्रपा केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दोश्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
राप्रपाले फागुन ७ गते प्रधानमन्त्री के.पी ओलीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो ।
राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा एवं भर्त्सना गर्दै राप्रपाले उठाएका मागहरूका सम्बन्धमा गम्भिर बन्न तथा दमन र हस्तक्षेपबाट नभइ वार्ता, सम्बाद र सहमतिका आधारमा सम्बोधन गर्न राप्रपा सरकारसँग आग्रह समेत गरेको श्रेष्ठले बताए ।
राप्रपाको बैठकले गरेको निर्णय जस्ताको त्यस्तै:
१) फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो । जनसंघर्षका क्रममा मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु उत्साहजनक रुपमा सम्पन्न भएका छन् । पहिलो चरणको जनसंघर्षलाई सफल तुल्याउन योगदान गर्ने पार्टीका सबै कमिटी एवं पार्टी कार्यकर्तालाई बैठक धन्यवाद ज्ञापन गर्दछ । जनसंघर्षमा साथ, समर्थन, सदभाव र ऐक्यबद्धताका लागि आम जनसमुदाय, सञ्चार माध्यम र सम्बद्ध सवैलाई आभार प्रकट गर्दछौं ।
२) पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा एवं भर्त्सना गर्दछौं । राप्रपाले उठाएका मागहरूका सम्बन्धमा गम्भिर बन्न तथा दमन र हस्तक्षेपबाट नभइ वार्ता, सम्बाद र सहमतिका आधारमा सम्बोधन गर्न राप्रपा सरकारसँग आग्रह गर्दछ ।
३) पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोश्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले ७ दिन भित्र कार्ययोजना पेश गर्नुपर्नेछ ।
४) दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी जनसंघर्ष अन्तर्गत पूर्व घोषित भोलि बैशाख ८ गते हुने भनिएको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको छ । यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ ।
५) हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आव्हान गर्दछ ।
६) ९४% ओमकार परिवार र ८१% हिन्दु भएको देशलाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गरिनुपर्छ भनेर राप्रपा निरन्तर संघर्षरत छ, हिन्दु राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन विभिन्न धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई राप्रपा आव्हान गर्दछ ।
मोहन श्रेष्ठ
प्रमुख
प्रचार विभाग
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६ १३:३६