काठमाडाैं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । तीन वर्षे कार्यकालको लागि कानुन व्यवसायीहरुले आज आफ्नो नयाँ नेतृत्व चयन गर्न लागेका हुन् ।
नेपाल बारको निर्वाचन समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौं उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको निर्वाचन समितिका संयोजक दामोदर खड्काले बताउनुभयाे । उहाँले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने दाबी गर्नुभयो ।
समितिका अनुसार १० हजार ३ सय १३ जनाले मतदान गर्नेछन् । मतदातामध्ये ६ हजार ८ सय जनाले सर्वोच्च अदालत परिसरमा तोकिएको मतदात केन्द्रमा मतदान गर्नेछन् । बाँकी ३ हजार दुई सय ६३ मतदाताले विभिन्न जिल्लाबाट मतदान गर्नेछन् ।
समितिका अनुसार देशकाे विभिन्न ठाँउमा ३८ वटा मतदान केन्द्र ताकिएकाे छ । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र तोकिएको छ । यसैगरी काठमाडौं उपत्यकाबाहिर ३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
अध्यक्षमा आठजना, महिला उपाध्यक्ष, प्रदेश- ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन-तीन जना उम्मेदवार छन् । बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा
निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समूहको नेतृत्व सुनिल कुमार पोखरेल र प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले नेतृत्व गर्नुभएकाे छ ।
प्रजातान्त्रिक समूहले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानवअधिकार र स्वतन्त्र प्रेस पक्षधर कानुन व्यवसायीको साथ आफूलाई रहेको दाबी गरेको छ। प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् ।
विगतका दुई कार्यकाल लगातार बार एसोसिएसनको नेतृत्व गरेको डेमोक्रेटिक लयर्स एसोसिएसनभित्र देखापरेको असन्तुष्टि रोक्न नसके त्यसको फाइदा प्रगतिशिल समूहलाई जानसक्ने अवस्था छ।
वामपन्थी समूहमा पनि पुरानो एमाले र माओवादीको तुष मतदाताले देखाए त्यसको फाइदा डेमोक्रेटिक लयर्स एसोसिएसनको समूहलाई हुने छ।
वि.सं. २०१३ सालमा स्थापना भएकाे नेपाल बारकाे याे २५ औं नेतृत्व चयन हाे । देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो ।
स्थापना भएपछि नागरिकको सवैंधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता सङ्गठन बारले आन्दोलन गर्दै आएको छ ।