रमानन्द न्यौपाने
राष्ट्रियता भनेको ब्यक्तीको आस्था एवं भावना हो जसको माध्यम बाट उसले आफुलाइ आफ्नो राष्ट्र सँग गासेर हेर्छ, राष्ट्र प्रति स्नेह र लगाव प्रस्तुत गर्छ र आफुले पहिचान पाएको अनुभुती गर्दै आफ्नो पहिचान प्रस्तुत गर्छ। अर्को शब्दमा भन्नेहो भने यो एक प्रकारको आस्था र विश्वासको बन्धन हो जसले ब्याक्तिलाइ आफ्नो राष्ट्र, भाषा, धर्म, इतिहास र मुल्यमान्यता सँग जोड्ने काम गर्छ।
राष्ट्रियता आफ्नो सभ्यता, संस्कृति र मौलिकपन प्रतिको अनुराग, प्रेम एवं सम्मोहन हो। राष्ट्रियता ब्याक्तीको स्वाभिमान र गौरव सँग गासिएको हुन्छ जसको रक्षाको निमित्त उ मर्न र मार्न तयार हुन्छ। राष्ट्रियता भित्र ब्याक्तीको पहिचान र पहिचान सँग जोडिएको अधिकार रहन्छ।
राष्ट्रियताको अवधारणा मानव जातिको बिकास क्रम सगै गासिएर आएको भन्दा अयुक्ती नहोला। सामुहिक सुरक्षाको माग र आवश्यकता बड्दै गएपछि राज्यको निर्माण हुन पुग्यो। यस सँगै ब्याक्तीले आफ्नो समूह र आफ्नो राज्य प्रति लगाव देखाउन थाल्यो र आफू कुनै समुह विशेष र राज्य विशेष सँग गासिएको अनुभुति गर्नुका साथै उक्त समुहको हितमा आफुलाइ उभ्याउन थाल्यो। यद्यपि राष्ट्रिय भावनाको चर्चा पश्चिमा जगतमा पुजीवादको प्रभाव सँगै अठारौं सताव्दी तिर बाट सुरु भएको पाइन्छ। राष्ट्रियता झट्ट हेर्दा स्थाइ प्रकृतिको देखिएता पनि यो एक परिवर्तनसिल अवधारणा हो किनकि राष्ट्रियता स्वदेशी पहिचान देखी लिएर ब्याक्तीको स्वजातिय एवं भाषिक पहिचान सम्म गासिएको हुन्छ भने समयक्रम सँगै विभिन्न देशहरूको भौगोलिक स्वरुप र संरचना अनि त्याहाको संस्कार संस्कृति पनि परिबर्तन हुने गर्दछ। कुरा यतिहो कि हजारौं बर्षको अबधि एवं ठुलै आन्दोलन र उथलपुथल बाट मात्रै यसको परिवर्तन हुन सक्दछ।
राष्ट्रियताको भावना बिकास सँगै पश्चिमा जगतमा टुक्राटुक्रामा बिभक्त जर्मनी र इटालीको एकीकरण गर्ने रचनात्मक अभियान देखी उग्र राष्ट्रियताको नाउँमा नरसंहारि बिश्वयुद्द सम्मका बिधोङ्सात्मक गतिविधि पनि हुन पुगे। दोस्रो बिश्वयुद्ध पछि आफुलाइ पुजीवादी र साम्यवादी धुर्व बाट अलग राख्नखोज्ने थर्ड ओल्डको रूपमा चिनिएका एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूले राष्ट्रवाद लाई आफ्नो आदर्श मान्न थाले। राष्ट्रवादको अवधारणाले उनीहरु लाई पश्चिमा उपनिवेशि शक्तिहरू बाट स्वतन्त्र हुन ठुलो भुमिका खेल्यो। यद्यपि यसले तेस्रो धुर्वको प्रतिनिधित्व गर्न भने सकेन किनकि राष्ट्रवाद आफैमा कुनै राजनीतिक सिद्धांत थिएन।
पुजीवाद र समाजवादमा झै बस्तुको उत्पादन र वितरणका साथै देशको आर्थिक नीति र पुजिको परिचालनको सन्दर्भमा यसको छुट्टै अवधारणा थिएन। राष्ट्रवादको नाउँमा एसिया देखी ल्याटिन अमेरिका सम्मका विविध सभ्यता, राजनीतिक व्यवस्था र आर्थिक अवस्था रहेका देशहरू बिच केवल उपनिवेशवाद बिरोधि अवधारणा मात्रै साझा मुद्दा थियो। वर्तमान बिश्व राजनीतिक परिवेशमा राष्ट्रियता एवं राष्ट्रवादको अवधारणाले पुन ठुलो महत्त्व पाएको देखिन्छ। विश्व जगतमा राष्ट्रियताको मुद्दा आत्मसात गरेका राजनीतिक दल एवं ब्याक्तीहरुको प्रभाव राष्ट्रिय राजनीतिमा मात्र नभै अन्तर्राष्ट्रिय राजनीतिमा पनि पर्दै गइरहेको देखिन्छ। अमेरिकामा ट्रम्पको बिजय देखी बेलायतको इयु देखी अलगिने निर्णय सम्म र भारतमा मोदीको उदय देखि चिनमा सि जिन्पिङ ले अर्को कार्यकालको नेतृत्व प्राप्त गर्ने घटना सम्ममा त्याहाका जनताको राष्ट्रियताको भावना प्रतिबिम्बित भएको पाइछ।
कुनैपनी देशको राष्ट्रियता, एकता, अखण्डता र सार्बभौमिकता शुन्यमा सृजना भएको हुदैन। प्रत्येक मुलुकका आ आफ्नो भूगोल, इतिहास, संस्कृति र सभ्यता अनुरुपका राष्ट्रियताका आधारहरु हुने गर्दछन। बडामहाराज पृथ्वीनारायण शाह द्वारा एकीकरण अभियानको शुभारम्भ भए पश्चात आधुनिक नेपालको अबधि लाई बाहिरी रूपमा हेर्नेहो भने नेपाली राष्ट्रियतका तीन वटा आधारहरु देख्न सकिन्छ: राजसंस्था, सनातन धर्म र एकात्मक राज्य प्रणाली। यिनै राष्ट्रियताका आधारहरुले नेपालको विविध बिबिधता लाई कुन हदसम्म सम्बोधन गर्न सके बहसको विषय हुन सक्ला तर बिबिधता लाई एकतामा गासेर देशलाई विखण्डन र बिलय हुनबाट आजसम्म बचाउने काम भने गरेका थिए। यिनै आधारहरू द्वारा हामी सयौं थुङ्गा फुल रुपि विविध जातजाति र भाषाभाषीका नेपाली लाई एउटै माला रूपी एकतामा उन्ने एवं गास्ने काम भएको थियो। यद्यपि विविध बिबिधता भएको मुलुकमा राष्ट्रियताको भावना लाई देशको राजनीतिक, भौगोलिक र बैधानिक पक्ष सँग मात्रै जोडेर हेर्नू गलत हुन जान्छ किनकि राष्ट्रियता आफैमा परिभाषित गर्न एकदमै जटिल विषय हो। राष्ट्रियता कुनैपनी देशको राजनीतिक, प्रशासनिक र भौगोलिक दायरा भित्र मात्रै बाधिएको नहुन सक्छ किनकी यो स्वजातिय सभ्यता सम्म गासिएको हुन्छ भने एउटै सभ्यता भित्र पनि अनेकौं राज्यहरू अस्तित्वमा रहन सक्छन्। हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधता भएको मुलुकमा यसमाथि छलफल र बहस हुनु नितान्त जरुरी छ। किनकि विविध बिबिधता भएको मुलुकमा राष्ट्रियता लाई बलियो बनाउन बिबिधताको सम्बोधन गर्नु त जरुरी हुन्छ नै त्योभन्दा बिबिधता लाई एकतामा गास्नु झनै अपरिहार्य हुन्छ।
राष्ट्रियता आफ्नो राष्ट्र प्रतिको अबिचलित आस्था, निष्ठा र प्रेमभाव त हो नै त्यसको साथसाथै राष्ट्रियता आफ्नो इतिहास, जाति, भाषा, धर्म, समुदाय र आफ्नो मौलिकपन प्रतिको अनुराग र सम्मोहन पनि हो। त्यसैले मुलुकको राष्ट्रियता मजबुत हुन देशभित्रका सबै बिबिधताहरुको संरक्षण, सम्बर्द्धन र बिकास हुन जरुरी हुन्छ जसलाई आन्तरिक राष्ट्रियताको संरक्षण भन्न पनि सकिन्छ । पश्चिमा जगतले पहिचानको कुरा उठाउन थालेको केवल केही दसक मात्र भयो तर पृथ्वीनारायण शाहले आजभन्दा ढाइ सय बर्ष अगाडि देशको बिबिधताको पहिचान र यसको संरक्षणको अनुभुती मात्रै गरेका थिएनन् तदअनुरुपको नीति समेत तर्जुमा गरि नेपाल लाई सबै जातको साझा फुलवारीको उपमा समेत दिएका थिए। जुन कुरा हामीले बुझ्न सकेनौ र पछिल्लो समय भौगोलिक एवं बाहिय राष्ट्रियताले मात्रै महत्व पायो तर आन्तरिक राष्ट्रियता मजबुत हुन पाएन। यसरी हेर्दा नेपालको विविध बिबिधता र बिबिधता लाई एकतामा जोड्ने सबै संयन्त्रहरु नेपाली राष्ट्रियताका आधार हुन।
जुनसुकै राष्ट्रको अखण्डता र सार्वभौमिकता संरक्षणका लागि राष्ट्रियताको महत्त्व हुने गर्दछ। राष्ट्रियता राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमिकता बचाइ राख्ने महत्वोपुर्ण औजार हो ।
राष्ट्रियताको मुख्य पक्ष भनेकै एकताको भावना हो जसमा मान्छेहरु राष्ट्रको लागि मर्न र मार्न तयार हुन्छन। एउटा ब्याक्तीलाई राष्ट्रियताले राष्ट्रिय संकटमा सामुहिक सामना र समाधान गर्न प्रेरित गर्दछ। हाम्रो जस्तो विविध आन्तरिक बिबिधता युक्त र दुई तर्फ फरक बैचारिक मान्यता बोकि बिश्वकै शक्तिकेन्द्रको रुपमा उदाउदै गरेका भौगोलिक, आर्थिक, सामरिक र जनसंखिक हिसाबले कयौं गुना ठुला राष्ट्रहरुको बिचमा भुपरिबेस्ठित रूपमा अवस्थित मुलुकको लागि त राष्ट्रको अस्तित्व रक्षार्थ राष्ट्रियता भन्दा ठुलो अर्को कुनै अश्र हुनै सक्दैन। पृथ्वीनारायण शाहले दक्षिण एसिया लाई ख्वापै निल्दै गरेको साम्राज्यवादी शक्ति बाट देशलाई बचाउन प्रजाहरु बिचको आपसी एकता र राष्ट्रभक्ति लाई प्रयोग गरेको कुरा भुल्न सकिदैन। नेपालीले राष्ट्रियता लाई उच्च प्रार्थमिकता दिएकै कारण दुई ढुङ्गा बिचको तरुलको रुपमा आजसम्म नेपालको स्वतन्त्र अस्तित्व कायम छ। जातीयता र साम्प्रदायिकता भन्दा माथी उठेर नेपाली हुनुमा गर्व गर्ने हाम्रो परम्पराको कारण यो सबै संभव भएको हो।
नेपालका राजनीतिक दल र तिनका नेताहरू मार्फत नै जनताको भावना र देशको आवश्यकता बेगर परिवर्तनको नाउँमा जबर्जस्त देशको राष्ट्रियताका आधारहरु भत्काउने संगठित र योजनाबद्ध प्रयासहरु भैरहेको र अन्तर्राष्ट्रिय शक्तिहरु समेत नेपालमा जातीय क्षेत्रीय संकिणता र अन्धरुडतावाद फैल्याउन लागिपरेको वर्तमान परिवेशमा राष्ट्रियताको महत्त्व झनै बढेर गरेको छ हाम्रो देशमा।
नेपालको सन्दर्भलाई हेर्ने हो भने नेपालका अधिकाङ्स राजनीतिक दल र तिनका नेताहरुले राष्ट्रियताको सन्दर्भमा स्पष्ट अडान लिएको भेटिदैन। देशका प्राय सबै ठुला दल र तिनका नेताहरूको पृष्ठभुमि कुनै न कुनै रूपमा भारत सँग गासिएको छ। नेपालका २००७ साल देखि २०६२/०६३ साल सम्मका हरेक आन्दोलन र राजनीतिक परिवर्तनहरुमा प्रत्यक्ष वा परोक्ष रूपमा भारतको भुमिका देखिन्छ। २००७ सालको प्रजातन्त्र सगै क्याबिनेट सम्म पुगेको भारतीय हस्तक्षेपको शृङ्खला र सुरक्षा संबेदनसिलताको नाउँमा नेहरु डक्टरिन लाई आधार बनाइ हिमालको काख सम्म बजारिन थालेका भारतीय सैनिकका बुटहरु हटाउने सम्मको कार्य गरि पहिलोपटक राजा महेन्द्रले राष्ट्रियताको मुद्दा गम्भीर रूपमा उठाएको देखिन्छ । यसरी पञ्चायत कालमा केही हदसम्म कमजोर बन्न पुगेको भारतीय हस्तक्षेप २०४६ सालको परिवर्तन हुदै २०६२/०६३ सालको १२ बुदे सम्म आइपुग्दा क्लाइमेक्समा पुगेको छ।
तत्कालीन भारतीय संस्थापनपक्षको प्रत्येक्ष प्रायोजन र सकृय सहभागितामा भारतीय भुमिमा दुई बिपरित राजनीतिक धुर्वमा हिडिरहेका सात राजनीतिक दल र तत्कालीन माओवादी बिच १२ बुदे सम्झौता गराउन सफल भइ छट्के किनारामा साछी बसेको भारतले १२ बुदेको पृष्ठभुमिमा अगाडि बढेको वर्तमान नेपालको राजनीतिक व्यवस्थाको एउटा स्टेक होल्डरको रूपमा आफुलाइ हेरिरहेको छ । यता नेपालमा भने राजनीतिक दल र तिनका नेताहरूको लागि राष्ट्रियता जोगिको मागिखाने कमण्डलु बनेको छ। अर्को राष्ट्र लाई गाली गर्नु र दक्षिण तर्फ इङ्गित गर्नु नै राष्ट्रियता हो भन्ने मानसिकता हावी भएको छ। कतिपय नेताहरू त जनता सामु राष्ट्रियताको सवाल र प्रसङ्गमा यसरी भावुक भएको अभिनय गर्छन् कि बोल्दा बोल्दै उनीहरुको आँखा रसाउछ र गला अबरुद्ध हुन्छ। २०४६ सालको परिवर्तन पछी सबैभन्दा धेरै अवधि सत्ता संचालन गरेको र १२ बुदेमा सात राजनीतिक दलको तर्फबाट हस्ताक्षर कर्ता नेपाली काङ्ग्रेसले राष्ट्रियतालाई आफ्नो ब्यानरमा नारा बनाएको भएता पनि उसका कतिपय पछिल्ला गतिविधिहरु राष्ट्रियताको सवालमा अत्यन्तै कमजोर र फितलो रहेको आम बुझाइ रहेको छ।
कम्युनिस्टहरु त सैधान्तिक रुपमै राष्ट्रियता भन्दा वर्गसंघर्ष लाई महत्त्व दिन्छन। राज्य बिहिन समाजको परिकल्पना गर्ने र धर्म संस्कृति लाई समाजमा आफ्नो प्रभुत्व कायम राख्न सामन्तिहरु द्वारा प्रयोग गरिने सफ्ट विपन एवं औजारको रूपमा चित्रण गर्ने कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद हो जहाँ न राज्य को अस्तित्व रहन्छ न त धर्म र वर्ग नै। अर्थात मानव इतिहास चक्रको अन्त्य एवं इन्ड अफ हिस्ट्री। तर नेपालमा भने कम्युनिस्टहरु नै आफुलाइ राष्ट्रियताको सच्चा पहरेदार भएको ठान्दछन। कतिपय वर्गीय राजनीति गर्ने कम्युनिस्टहरुले नेपालमा जातीय राजनीति मात्रै गरेनन भारतकै प्रत्येक्ष परोक्ष संरक्षणमा राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको लागी भन्दै जनयुद्ध नै संचालन गरे जसवट हजारौं सर्वसाधारण नेपालीले ज्यान गुमाउन पर्यो।
समसामयिक राजनीतिको कुरा गर्ने हो भने तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा वलिले राष्ट्रियताकै नारा लगाएर गएको निर्वाचनमा एमाले लाई देशको सबैभन्दा ठुलो दल बनाए। प्रतिकात्मक कुरा त यो छ कि हिजो जो जसलाई अराष्ट्रवादी इङ्गित गरेर उनलेे चुनाव जिते, आज तिनै सँग गला गासेर आफू प्रधानमन्त्रीको कुर्सीमा बिराजमान छन। यसका अतिरिक्त काङ्ग्रेस र कम्युनिस्ट बाहेक आफुलाइ सैद्धान्तिक र बैचारिक रुपमै राष्ट्रवादी भएको र उदार परम्परावादी ब्याक्ती र शक्तिको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीको स्थापना कालदेखिनै फुट्दै र जुट्दै कमजोर बन्न पुगेको छ। सम्बर्द्धनवादलाई आफ्नो सिद्धान्त मान्ने हिन्दुराष्ट्रको एजेन्डा बोकेको राप्रपाको तर्फबाट झन्डै पन्चानब्बे प्रतिशत ॐकार समुदायको उपस्थिति रहेको देशको संघीय संसदमा एकमात्र सदस्यका रूपमा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गरिरहेका छन।
नाकाबन्दीको समयमा सरकारको नेतृत्व गरेको केपि वलिको दल एमाले देशको सबैभन्दा ठुलो पार्टी बन्दैगर्दा सोही सरकारका उपप्रधानमन्त्री कमल थापा जसले नाकाबन्दी खुलाउने देखी यस विषयलाई अन्तर्राष्ट्रियकरण र चीन सँग पारवहन लगायत दीर्घकालीन महत्त्वका सम्झौता गर्न महत्त्वपूर्ण भुमिका खेलेका थिए उनले नेतृत्व गरेको दल चुनावको मुखमा तीन टुक्रामा फुटेको कारण च्याउ खुम्चिएझै खुम्चिन पुगेको छ ।
आन्तरिक बिबिधतायुक्त र बिश्व राजनीतिक रंगमंचमा कमजोर भुमिका भएका मुलुकहरूको राष्ट्रियताका अनेकन चुनौतीहरु हुने गर्दछन। नेपालको सन्दर्भ लाई नजीक बाट नियाल्नेहो भने मुलुकको भौगोलिक अवस्थिति, भुपरिवेस्ठिता, आन्तरिक बिबिधता, आर्थिक परनिर्भरता, परिचालित नेतृत्व, परिवर्तनको नाउँमा राष्ट्रियतामाथी हुने गरेका श्रृङ्खलावद्द प्रहारका साथै सूचना प्राविधि र बिश्वब्यापीकरण एवं भुमन्डलिकरणको प्रभाव आदि नेपाली राष्ट्रियताको चुनौतीका रूपमा देख्न सकिन्छ । भिन्न बैचारिक आस्था बोकेका ठुला राष्ट्रहरुको बिचमा अबस्थित नेपाली भूगोलको रणनीतिक र सामरिक महत्त्व छ।
छिमेकी मुलुकहरूले हामीलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोज्ने संभावना त छदैछ नेपालको भुमि प्रयोग गरेर समग्र एसिया प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न तेस्रो मुलुकले नेपालको राष्ट्रियता माथी प्रहार गर्न सक्ने र नेपाल शक्तिकेन्द्रहरुको प्रतिस्पर्धा र क्रिडा स्थल बन्न सक्ने संभावना पनि उत्तिकै छ। यसैगरी नेपालको भुपरिबेस्ठिता पनि हाम्रो राष्ट्रियताको चुनौतीको रूपमा रहेको छ। भुपरिबेस्ठिताको फाइदा उठाउदै दक्षिणको छिमेकी भारत बाट नेपालमा आफ्नो स्वार्थ अनुरुपको निति निर्णयमा दबाब स्वरुप दुई पटक नाकाबन्दीको सामना गरिसक्यौ हामी नेपालीले । यसको साथै हाम्रो बिबिधताको यथोचित सम्बोधन हुन नसकेमा आन्तरिक बिबिधता नै नेपाली राष्ट्रियताको चुनौती बन्ने देखिन्छ।
राष्ट्रियता ब्याक्तीको आफ्नो जातिय साम्प्रदायिक पहिचान देखि लिएर उसको सभ्यता सम्म जोडिएको हुन्छ। वास्तबमा राष्ट्रियता त्यस्तो आस्था एवं भावनाहो जसलाई रबर जस्तै तन्क्याउन र खुम्च्याउन सकिन्छ । राष्ट्रियताका विभिन्न श्रेणीगत तहहरु हुन्छन् र ब्याक्तीले आफुलाइ तिनै तहहरु सँग गासिएको अनुभुति गर्ने गर्दछ । कुनैपनी नेपाली नागरिकका लागि समग्र पुर्वीया सभ्यता देखी लिएर उसको जातीय एवं थरगत पहिचान सम्म उसको राष्ट्रियताका तहहरु हुने गर्दछन । उसले उसको नेपाली राष्ट्रियता लाई दक्षिण एसियायी सभ्यता हुँदै समग्र पुर्वीया सभ्यता सम्म तन्क्याउन मात्रै होइन निश्चित जाती हुँदै उसको थरगत पहिचान सम्म खुम्च्याउन पनि सक्दछ । यसरी नागरिकले राष्ट्रियताको भावना लाई खुम्च्याएर आफ्नो जातीय, भाषिक र साम्प्रदायिक पहिचान लाई महत्त्व दिन थाल्यो भने समग्र राष्ट्रिय पहिचान खतरामा पर्न जान्छ ।
आज यिनै आन्तरिक बिबिधता भित्रको संबेदनसिलता लाई प्रयोग गरि मुलुकको समग्र राष्ट्रिय पहिचान र राष्ट्रियताको भावना कमजोर गराउदै देशमा जातीय क्षेत्रीय संकिणताको बिजारोपण गर्न तल्लीन छन कतिपय दातृ निकाय र वैदेशिक शक्तिहरु । यसको साथसाथै हाम्रो आर्थिक परनिर्भरता पनि नेपाली राष्ट्रियताको चुनौती बनेको छ। देश संघीय संरचनामा गएपछि यसलाई धान्न लाई वैदेशिक ऋण र अनुदान एकमात्र विकल्प रहेको भनिरहेको छ सरकार । तीन तहको सरकार निर्माण भएसगै सरकारको आकार बढेर जानुको साथै फजुल खर्चमा वृद्धि भएको छ। । पछिल्लो समय वैदेशिक ऋणको भारी यसरी बढेकोछ कि नेपालमा जन्मिदै गरेको कुनैपनि बच्चाले उसका पू्र्खाले लिएको तीस हजार भन्दा बेसि वैदेशिक ऋणको भारी टाउकोमा बोकरै जन्मिनु पर्ने अवस्था छ।
देशका नव युवाहरू को नियति नै बिदेशमा गएर पराइको माटोमा रगत पसिना चुहाउनु पर्ने बनेको छ। आर्थिक परनिर्भरताकै कारण एकातिर नेपाली युवाहरूको नेपाली हुनुको गौरव गरिब हुनुको हीनताबोध मा परिवर्तन हुने मात्रै नभएर वैदेशिक आर्थिक चलखेलका कारण देशको संस्कार संस्कृति समुल नस्ट हुने जोखिम बढेर गरेको छ जुन कुरा नेपाली राष्ट्रियताको ठूलो चुनौती बन्ने निश्चित प्राय छ। पछिल्लो समय राजनीतिक दलका प्राय शीर्षस्त नेताहरु विभिन्न वैदेशिक शक्ति हरु द्वारा परिचालित हुनेगरेको र बिदेशी अनुकुलका निति निर्णय गरेर देशको राष्ट्रियता माथी प्रहार गर्ने गरेको टिकाटिप्पणी हुने गरेको छ। गणतन्त्र स्थापना पछिको अवधिमा मात्रै पचासौं लाख बिदेशीले नागरिकता लिएको भन्ने चर्चा छ।
एउटा बिदेशीले यो देशको नागरिकता प्राप्त गर्नु भनेको यो देशको सम्पुर्ण प्राकृतिक श्रोत साधन माथिको एक कित्ता सेयर प्राप्त गर्नु हो भने पचासौं लाख बिदेशीले यदि नागरिकता पाएका हुन भने यो देशको सम्पुर्ण साधन श्रोत माथिको पचासौं लाख कित्ता बेचिएको ठहर्छ। यसप्रकार मुलुकमा भरोसा योग्य राजनीतिक नेतृत्वको अभाव त छदैछ त्यसमा पनि परिचालित नेतृत्वले जतिबेला पनि देशको हित बिपरित बिदेशीहरुको पक्षमा निर्णय गर्न सक्दछ । यसर्थ परिचालित नेतृत्व हुनु पनि नेपाली राष्ट्रियताको अर्को चुनौती रहेको देखिन्छ। त्यसैगरी पछिल्लो समय आमूल परिवर्तनको नाउँमा देशको आवस्यकता र जनताको चाहना बिपरित मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमिकता माथि गम्भीर प्रभाव पार्ने प्रकृतिका निर्णयहरु हुनेगरेका छन। हिजो प्रयाप्त बहस र छलफल बिना जनताको प्रत्येक्ष अभिमत एवं जनमतसंग्रह नगरीकन भित्र्याइएका एजेन्डाहरुमाथि हाल आएर जनमानसमा व्यापक असन्तुष्टि देखिन थालेको छ।
पछिल्लो समय थपिएको करको बोझ सगै जनताले संघीय व्यवस्था प्रति व्यापक असन्तुष्टि जाहेर गरिरहेका छन। यसरी परिवर्तनको नाउँमा जबर्जस्त स्थापित एजेन्डाहरुकै कारण भोलि मुलुक विखण्डन र बिभाजनको दलदलमा फस्न सक्ने र देशको राष्ट्रियता कमजोर बन्ने संभावना पनि देखिन्छ। यसको साथसाथै सूचना प्राविधिको बिकास सँगै आएको बिश्वब्यापीकरणको मान्यता पनि नेपाली राष्ट्रियताको अर्को चुनौती बन्ने देखिन्छ। आधुनिक सूचना प्राविधिले संस्कार संस्कृति र जिबन शैलीमा प्रत्येक्ष प्रभाव पारिरहेको छ। यसबाट हाम्रो मौलिकता ओझेलमा पर्ने मात्रै नभएर आयातीत सामाजिक मान्यता र हाम्रो मौलिक संस्कृति बीच द्वन्द्व सृजना भै एकता खल्बलिने संभावना रहेको छ। भुमण्डलिकरणको वर्तमान समयमा राज्यको भुमिका कम हुदै गरेको मात्रै छैन साना राष्ट्रहरुले आफ्नो निर्णय शक्ति गुमाउँदै गइरहेका छन। अर्को शब्दमा भन्नेहो भने साना र कमजोर मुलुकहरु केवल शक्तिराष्ट्रहरुका आर्थिक, राजनीतिक र सामाजिक मान्यता उपभोग गर्ने उपभोक्ता बन्न थालेका छ्न जसबाट नेपाल पनि अलग रहन सक्ने अवस्था देखिदैन।
यसरी हेर्दा नेपाल जस्तो आन्तरिक रुपले बिबिधतायुक्त, भौगोलिक रूपमा संबेदनसिल र आर्थिक रूपमा परनिर्भर मुलुकको राष्ट्रियता उसको सुरक्षा कवज मात्रै होइन उसको दीर्घकालीन अस्तित्वको आधारसिला पनि हो। नेपाली राष्ट्रियता बलियो बनाउन आन्तरिक बिबिधताको यथोचित व्यवस्थापन गर्नु त आवश्यक छ नै बिबिधता लाई एकतामा गास्ने संरचनाहरुको संरक्षण गर्नुपनी त्यतिनै जरुरी छ। तत्कालीन फाइदाको लागि राजनीतिक रुपले प्रतिशोध राखेर होइन मुलुकको एकता, अखण्डता, सार्बभौमिकता र दीर्घकालीन अस्तित्व लाई केन्द्रमा राखेर नेपाली राष्ट्रियता माथी नयाँ ढंगले बहस, विश्लेषण र तद अनुरूपको मान्यता स्थापित गर्न लागि पर्नु आजको आवश्यकता बनेको छ।
लेखक राप्रपाका केन्द्रिय सदस्य हुन् ।
([email protected])