काठमाडौं । राप्रपाको १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जारी छ ।
हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारीलाई कारबाही, विद्यमान आरक्षणको व्यवस्थामा परिमार्जन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिनुपर्ने लगायतका यसअघि सरकारलाई पेश गरेको २२ बुँदे मागका बारे जनसंघर्ष कार्यक्रम अन्तर्गत स्वाभिमान यात्रा सञ्चालन भइरहेको छ ।
राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गर्दै जनसंघर्ष कार्यक्रम घोषणा गरेको थियो । सरकार समक्ष पेश गरेको मागहरु बारे जनतालाई जानकारी दिन, जनमत सिर्जना गर्न यात्रा सञ्चालन गर्नुपरेको राप्रपाले जनाएको छ ।
संयुक्तका केन्द्रिय सदस्य पार्टी परित्यागको पत्र
स्वाभिमान यात्राका क्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्नेको संख्या पनि बढिरहेको छ । केही दिन अघि राप्रपा संयुक्त परित्याग गरि पर्साका तीन केन्द्रीय सदस्य र जिल्ला कार्य समिति, सोही पार्टीबाट नीजगढमा गत स्थानीय तहका उमेदवारहरु राप्रपामा समाहित भएको थियो ।
स्वाभिमान यात्राकै क्रममा राप्रपा संयुक्तका चार केन्द्रीय सदस्यहरू रमेश अर्याल, सल्लाउद्दिन जसगढ, खेमराज गौतम (बाँके)र शोभा शाही(जाजरकोट)ले संयुक्त बिज्ञप्ति जारी गर्दै राप्रपा मुलधारमा प्रबेश गरेको घोषणा गरेका छन् । राप्रपा अध्यक्ष कमल थापाले यात्राका अधिकांश सभाहरुमा समान विचार भएका दल, व्यक्ति वा समूहलाई बलियो राष्ट्रवादी शक्ति निर्माणको अभियानमा एकजुट हुन आव्हान गरिरहेका छन् ।
राप्रपाको स्वाभिमान यात्राको नवौं दिन आज कपिलवस्तुको कृष्णनगरबाट अघि बढेको छ । आज दाङको भालुवाङ, लमही, बाँकेको शमशेरगञ्जमा कोणसभा गर्दै अपरान्ह सुर्खेतमा सभामा परिणत हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । हिन्दु राष्ट्रको पक्षमा जनताको समर्थन प्राप्त भइरहेको पनि श्रेष्ठले बताए । यात्रा फागुन ३० गते काठमाडौंमा समापन हुनेछ ।