हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र र राजसंस्थाको स्थापना गर्न जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
राप्रपाले जारी राखेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आज हेटौँडामा भएको सभामा बोल्दै अध्यक्ष थापाले नेपाललाई सनातन हिन्दुराज्य बनाउने अभियानमा जनसमर्थन ठुलो रहेको भन्दै राप्रपाको हिन्दु राष्ट्र र राज संस्थाको लागी जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताएका हुन् ।
अध्यक्ष थापाले राप्रपाको २२ बुँदे मागलाई वेवास्ता गरिए तेश्रो जनआन्दोलन हुने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष थापाले केपी ओलि नेतृत्वको सरकारले लोकतन्त्रको आडमा भ्रष्ट्रचारहरुलाई प्रश्रय दिएको भन्दै अध्यक्ष थापाले वाइडबढी, सुनकाण्डको विषयमा अहिलेसम्म कुनै तथ्य बाहिर नआउनु शंकाको विषय भएको बताए ।
साथै थापाले सरकारले नेपाललाई विखण्डन गर्ने मानसिकता भएकाहरुलाई निस्तेज पार्न नसकेको भन्दै उनले यस्तै अवस्था आए देशमा ठुलो संकट आउने बताए ।
सभालाई नेता बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गरेका थिए ।
राप्रपाले सनातन हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था बारे गोलमेच सम्मेलन, संघीयता बारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, ०४७ सालपछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने, विद्यमान आरक्षणको व्यवस्थामा सुधार गरि आर्थिक रुपमा विपन्नलाई आरक्षणको व्यवस्था गरिनुपर्ने लगायतका २२ बुँदे मागका पक्षमा जनमत सिर्जना गर्न राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
यात्रा सुदुर पश्चिमको कञ्चनपुर पुगी फागुन ३० गते काठमाडौंमा कलश यात्रा र आमसभा गर्दै सम्पन्न हुने श्रेष्ठले बताए ।