विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रमा सहमती गरौं होइन भने सडकबाट घोषण गर्छौं भनेका छन् ।
थापाले भने "२३ वर्ष अघि आमूल परिवर्तनको नाममा हिंसात्मक विद्रोह भयो, सत्र हजार नेपालीको ज्यान गयो, खरबौं सम्पत्ति नष्ट भयो, सदियौं देखिको दासताको अन्त्य गर्न भनेर जनतालाई आन्दोलनमा होमियो, आखिर जनताले के पाए ? केपी ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर देउवा वा अरु कोही भएर केही हुँदैन ।"
थापाले १२ वर्ष अघि १२ बुँदे मार्फत तय गरिएको मार्गचित्रको प्रणालीगत कमजोरी हो । देशले धेरै दु:ख पायो अब पुनर्विचार गरौं भनि आग्रह गरेका छन् ।
थापाका अनुसार "राप्रपा कमजोर भएर उठ्न सकेन भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सदाका लागि समाप्त भएर जान्छ । सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने हाम्रो प्रयास रहनेछ, नयाँ सहमतिका लागि सरकार, नेकपा र नेपाली कांग्रेसलाई बिराटनगरबाट नै आव्हान गर्छु । हामी जनसंघर्षको चरणमा छौं, सहमति हुन नसके अर्को चरणमा सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्नेछौं ।"

त्यस्तै थापाले पार्टीका सदस्यहरु पार्टीका राम्रा नराम्रा निर्णयको बचाऊ गर्ने उनीहरूको कर्तव्य हो, जनता कुनै पार्टीका कार्यकर्ता होइनन्, हरेक पार्टीका राम्रा नराम्रा पक्षलाई केलाएर जनताले आफ्नो विवेकको अधिकार प्रयोग गरेको दिन नेपालमा विकास, परिवर्तन र समृद्धि संभव भएको बताएका छन् ।
साथै थापा भन्छन् "प्रधानमन्त्रीका सन्तान छैनन्, कसैका लागि सम्पत्ति कमाएर राखिदिनु पर्ने आवश्यकता पनि छैन, हिम्मतका साथ एनसेल कर छली, सुनकाण्ड देखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही गर्नुस् राप्रपाले साथ दिनेछ, भ्रष्टाचारीलाई कारबाही गर्न र विखण्डनको आवाजलाई निस्तेज पार्न सक्नु भएन भने इतिहासले माफ गर्ने छैन ।"
त्यसै गरी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जनता कांग्रेस हुनु छ हुनुहोस्, कम्युनिस्ट हुनु छ हुनुहोस् तर नेपालको अखण्डता कायम रहोस् भन्ने चाहनु हुन्छ भने नेपाललाई हिन्दु राष्ट्र बनोस् भन्ने चाहनु हुन्छ भने राप्रपाले अभियान सञ्चालन गरिरहेको अभियानलाई साथ दिनुहोस् भन्ने अपिल गरेका छन् ।

सांसद राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा चुनाव केन्द्रीत होइन, हामी देश बचाउने र देश बनाउने अभियानमा छौं, हामीलाई भोट होइन सपोर्ट चाहिएको छ भनेका छन् ।
लिङ्देनले नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन गिरिजाप्रसाद, प्रचण्ड र माधब नेपाल मात्रै दोषी छैनन्, धर्म निरपेक्षता बनाउने पार्टी र नेतालाई मत दिने हिन्दुहरुका हात पनि दोषी छन् भनी आरोप लगाएका छन् । त्यस्तै नजानेर गरेको गल्ती सच्याउन सकिन्छ, धर्मलाई धोका नदिऊँ, राप्रपाले सञ्चालन गरेको अभियान धर्म रक्षाको अभियान पनि हो भन्दै लिङ्देनले सबैलाई आग्रह गरेका छन् ।
साथै उनले "जनता कसैका दास र गोठाला होइनन्, एक पटक कुनै परिस्थितिमा कसैलाई मत दिए भन्दैमा सधैं त्यो अवस्था रहँदैन भन्ने जनता प्रतिको विश्वासले हामी हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मुद्दा लिएर जनता ब्युझाउने र जनताको समर्थन माग्दै अभियानमा निस्केका हौं ।" भनेका छन् ।
राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट प्रारम्भ भइ मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको छ । यात्रा आज नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुग्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।