काठमाडौँ, फागुन ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मा सचिवालयलाई नै दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कार्यदल सदस्यसहित बसेको नेकपा (नेकपा) को सचिवालय बैठकले सो निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, सचिवालय बैठकले प्रस्ताव तयार पारी स्थायी समितिमा पेश गर्ने गरी जिम्मा दिइएको छ ।
गोरखापत्रसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘कार्यदलकै साथीहरूले सचिवालयले थप काम गर्न ठीक हुन्छ भनेपछि सचिवालयको जिम्मा लगाइयो ।’
कार्यदलका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले यही फागुन ४ गते सचिवालय बैठकमा प्रतिवेदन बुझाउनुभएको थियो । उहाँले कार्यदल सदस्यसहित बिहीबार बसेको सचिवालय बैठकमा कार्यदलले गरेका काम, त्यसका समस्यासहित सुझाव पेश गर्दै कार्यदललाई एक हप्ताको समय माग गर्नुभएको थियो । यद्यपि, शुक्रबारको बैठकले साङ्गठनिक एकताको प्रस्ताव सचिवालयले नै तयार पार्ने निर्णय गरेको हो ।
पुस १३ गतेको स्थायी कमिटी बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय साङ्गठनिक एकीकरण गर्न कार्यदल गठन गरेकोे थियो । कार्यदललाई पुस मसान्तभित्र एकीकरणका बाँकी कामको प्रस्ताव तयार गर्ने, विधानमा रहेका त्रुटि सच्चाउने, केन्द्रीय सदस्यको कार्यविभाजनलगायतको कार्यादेश दिइएको थियो ।
२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा (नेकपा) गठन भए पनि जिल्ला र जनवर्गीय सङ्गठनको एकता अहिलेसम्म हुनसकेको छैन ।
यद्यपि, एकतापछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भइसकेका छन् । जनवर्गीय सङ्गठनमा निर्माण व्यवसायी, कानुन व्यवसायी र इञ्जिनियरको सङ्गठन मात्र एकीकरण भएको छ ।