काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र नेपालीको नैसर्गिक अधिकार भएको बताएका छन् ।
काठमाडौं नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित काठमाडौं स्तरीय भेलामा बोल्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र नेपालीको नैसर्गिक अधिकार भएको भन्दै हिन्दु राष्ट्र विदेशीको दबाब र प्रभावमा खोसिएको हुँदा यसलाई पुर्नस्थापना नगरे खोसेर भए पनि हिन्दु राष्ट्र स्थापना गर्ने बताएका हुन् ।
थापाले राप्रपाले फागुन ७ गतेबाट हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि आन्दोलन गर्ने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक भएको बताएका छन् ।
कार्यक्रम थापाले हिन्दु राष्ट्र नेपालको राष्ट्रियता र राष्ट्रिय स्वभिमानको लागि समेत आवश्यक भएको तर्क गरेका छन् ।
उनले नेपालको संविधानमा हिन्दु राष्ट्र लेखिए पनि नलेखिए पनि नेपाल सदियौ देखि सनातन मुल्य र मान्यतामा आधारित देश भएको हुँदा धर्म र संस्कृतिको रक्षाको लागि हिन्दु राष्ट्र र यसको संरक्षणका लागि राजसंस्था चाहिने जिकिर गरे ।
त्यस्तै विदेशीको प्रभावमा परेर नेपाललाई संस्कृतिक उपनिवेश बनाउन राजसंस्थालाई हटाईएको समेत थापाले बताए । त्यसको भरियाको रूपमा कम्युनिष्टहरुले नेपाललाई संस्कृतिक उपनिवेश बनाउने क्रममा साम्राज्यवादी मुलुकले कम्युनिष्टसित साठगाठ गरेर नेपालमा परिवर्तन गराएको दाबी समेत थापाले गरेका छन् ।
उनले संविधानमा हिन्दु राष्ट्र लेखाएर मात्र नपुग्ने, सनातन मुल्य र मान्यतालाई समेत स्थापीत गर्नु पर्ने बताएका छन् ।
अल्पसंख्यकलाई खुसी बनाउने नाउँमा बहुसंख्यकको आस्थामा आघात पुराउने काम गरे दुर्घटना हुने चेतावनी समेत थापाले दिएका छन् ।

कार्यक्रममा बोल्दै राप्रपाका संगठन विभाग प्रमुख संघीय संसदका सांसद माननीय राजेन्द्र लिङ्देनले राजनीतिले मानव कल्याणको प्रतिनिधित्व गर्ने र सेवाको सर्वोत्तम माध्यम भएको हुँदा धर्म जस्तै राजनिती भएको बताएका छन् । उनले धर्म बिनाको बिकृत राजनीतिले देशलाई नकारात्मक असर पुराएको भन्दै धर्म राजनीतिले नै देशमा सहि दिशा प्रदान गर्ने दाबी गरेका छन् ।
त्यस्तै लिङ्देनले विदेशीहरुको योजना प्रभाव र निर्देशनमा केहि राजनीति दलले देशको अवस्था बिगारेको बताए । धार्मिक गुरुहरुले धर्म निरिपेक्षको विरोधमा आन्दोलन गरेको भए राप्रपाले हिन्दु राष्ट्र स्थापनार्थ आन्दोलन गर्न आवश्यक नपर्ने तर्क गरेका छन् ।
उनले हिन्दु धर्म नेपाली जनताको एकता र पहिचानसित जोडिएको विषय भएको हुँदा राप्रपाको अभियानमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
उनले देशभरिका जनप्रतिनिधिहरुलाई होली वाईन खुवाएर जिजेसको छोरीबाट आशिर्वाद दिलाएर सपथ खुवाउने प्रयास गरिएको विषय प्रस्तुत गरेका थिए ।
नेता लिङ्देनले विधर्मीहरुलाई सहयोग गर्ने धार्मिक व्यक्तिहरुको अनुष्ठान पुरा नभएको दाबी समेत गरेका छन् ।

त्यस्तै कार्यक्रम बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुषले संस्कार युक्त समाज निर्माण गरेर छाड्ने बताएका छन् । उनले धर्म रक्षाको लागि राप्रपा मात्र एक विकल्प भएको दाबी गरेका छन् । उनले राष्ट्रियताको कुरा मात्र गरेर नहुने व्यवहार र चरीत्र पनि राष्ट्रवादी बनाउने पर्ने बताए । त्यसै गरी योगी पुष्पराजले संगठनले बलियो धार्मिक शक्ति केन्द्र समेत स्थापना गर्ने बताएका छन् ।
कार्यक्रममा संगठनका महासचिव आचार्य सुजन अधिकारी, प्रवक्ता सुजन शास्त्री लगायतमा धार्मिक मन्तव्य राखेका थिए ।