धनगढी – प्रदेश सातको राजधानी ‘गोदावरी’ राख्न विशेष सुुझाव समितिले सिफारिस गरेपछि त्यसको सत्तापक्षसँगै विपक्षी दलका सांसदले विरोध जनाएका छन् ।
प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएकोमा भने विवाद छैन ।
प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन बुझाउनका लागि साउन १४ गते गठन गरिएको विशेष समितिले मंगलबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गरेको थियो ।
प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी नगरपालिका–४, तेघरीस्थित नेपाली सेनाको ब्यारेकबाट उत्तरपश्चिम, गोदावरी–डडेल्धुरा सडकबाट पश्चिम, गोदावरी खोलाबाटट पूर्व र अत्तरिया बजारबाट दक्षिणतिरको चारकिल्ला भएको क्षेत्र उपयुक्त रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
अस्थायी राजधानी धनगढीमा प्रदेश संरचना निर्माण र मर्मत सम्भारमा करोडौँ रुपैयाँ खर्च भइसकेको अवस्था र साबिकको क्षेत्रीय सदरमुकाम दीपायलमा राजधानी हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको अवस्थामा गोदावरीमा राजधानी तोक्ने तयारीपछि त्यसको सत्तापक्षसँगै प्रतिपक्षका सांसदले बिरोध गरेका हुन् ।
उनीहरुले गोदावरीको साटो हाल अस्थायी राजधानी कायम रहेको धनगढी अथवा साबिककै क्षेत्रीय सदरमुकाम दीपायलमै राजधानी तोकिएमा उपयुक्त हुने सुझाव पनि दिएका छन् ।
‘धनगढीमा प्रदेश सरचनाका नाममा करोडौँ खर्च भइसक्यो । फेरि जङ्गल मासेर गोदावरी राजधानी किन बनाउने ?’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रश्न गरे, ‘विकास बजेट फेरि पनि प्रदेश कार्यालय खोल्नमा खर्च गर्नका लागि ?गोदावरीमा जङ्गल फडानी गर्नका लागि ?’
उनले गोदावरी राजधानी बनाउँदा केही व्यक्तिलाई फाइदा पुगे पनि प्रदेश ७ का २५ लाख जनतालाई फाइदा नहुने जिकिर गर्दै त्यसो गरिए दूरगामी असरपर्ने चेतावनी दिए ।
उनले भने, ‘राजधानी किन सार्नुपर्यो ? धनगढी उपयुक्त छँदै छ त । सार्नैपरे गोदावरी किन सार्ने ? विकल्प दीपायल छँदै छ ।’
उनले आफनो पार्टीले समेत धनगढी राजधानी हुनुपर्छ भनेर प्रष्ट रुपमा भनेको बताए ।
नाम ‘सुदूरपश्चिम’ परिचित भएकाले यसमा विवाद आवश्यक नरहेको समेत उनले बताए ।
कांग्रेसकै सांसद भरतबहादुर खडकाले पनि दीपायल वा धनगढीमध्ये एक ठाउँलाई राजधानी तोकिनुपर्नेमा गोदावरी तोकिएको विषयमा असन्तुष्टि जनाए ।
‘बिना गृह कार्य, बिना छलफल हचुवाको भरमा दीर्घकालीन महत्वको विषयमा प्रतिवेदन तयार गरियो’ खडकाले भने, ‘विज्ञ समुह बनाएर जिल्ला जिल्लामा जानुपर्नेमा समिति भने काठमाडौँ गयो । अनि कसरी तोक्छ सबैलाई अपनत्व हुनेगरि राजधानी ?’
समितिमा आफ्नो पार्टीको सहभागिता नगराएको भन्दै पहिलेदेखि नै समितिको प्रतिवेदन नमान्ने चेतावनी दिँदै आएको प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि राजधानी गोदावरी राखेको विषयमा आपत्ति जनाएको छ ।
प्रदेश राजधानी तोक्नका लागि समितिले बुझाएको प्रतिवेदनका विरुद्ध संसदमा आलोचना गर्ने राजपा प्रदेशसभा सदस्य कृष्णकुमार चौधरीले चेतावनी दिए ।
‘नामको बारेमा हाम्रो कुनै गुनासो छैन । तर, राजधानी एउटा कुनामा लग्न खोजियो । यसलाई विवाद रहित बनाउनुपर्छ ।’ देश सञ्चार अनलाइनबाट