काठमाडौंँ, भदौ ३१ गते । । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आउँदो असोज ३ गते चीनको औपचारिक भ्रमणमा जानु हुने भएको छ । छ दिनको भ्रमणका लागि चीन जान लाग्नुभएको उपराष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हो ।
यसअघि पहिलो पटक उपराष्ट्रपति हुँदा पनि उहाँले एक पटक चीन भ्रमण गर्नुभएको थियो । दोस्रो पटक निर्वाचित भएपछि भने उहाँको यो पहिलो वैदेशिक भ्रमणमा हो ।
भ्रमणको क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागीता जनाउनुहुने उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।
‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ ।
उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गनुहुनेछ । उहाँले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नुहुनेछ ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत हुनुहुनेछ ।
सीपीसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लाग्नुभएका उपराष्ट्रपति असोज ८ गते स्वदेश फर्कनु हुनेछ ।