काठमाडौं । भाद्र २४ गतेबाट नेपाली सेनाको कमाण्ड सम्हालेका प्रधानसेनापति पूर्णचन्द्र थापा एकपछि अर्को विवादमा मुछिन थालेका छन् ।
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यास रद्द हुनुको अवगाल, प्रधानसेनापति राजेन्द्र क्षत्रीको उत्ताउलो पारामा गरिएको रथयात्रा तथा विदाई र कायममुकायम प्रधानसेनापति हुँदा गरिएको बढुवा सर्बोच्च अदालत अन्तरिम आदेशपछि रोक्का सँगै उनी निकै तनाबमा छन् ।

उता प्रधानसेनापति भएको भोलीपल्टै अर्थात भाद्र २५ गते भारतीय राजदूत मञ्जिवसिंह पुरीले सैनिक मुख्यालयमा पुगेर भेट गरेलगत्तै उनी थप विवादमा परे । बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको उक्त भेटघाटबारे परराष्ट्र मन्त्रालयले भने बेखबर बन्यो ।
विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेट्दा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल भएता पनि राजदूत पुरीले भेटघाटपूर्व कुनै जानकारी दिएनन् । जसको अहिले निकै आलोचना भइरहेको छ । उक्त भेटघाटपछि नवनियुक्त प्रधानसेनापति थापा पनि विवादमा तानिए ।
नेपाली सेनाले पुर्खाले आर्जेको भूगोलको रक्षा गर्न नसकेको भन्दै चौतर्फी विरोध र आलोचना भइरहेकै बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष तथा सामाजिक अभियन्ता फणीन्द्र नेपालले सेना क्रियाकलापप्रति असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकको वालमा लेखेका छन्,'नेपाली सेनाभित्र संयुक्त राष्ट्र संघमातहतका शान्ति सेनामा जान दौडादौड र खेलखाल हुन्छ ।किनकी त्यहाँ जान पाए डलर हात पर्छ । तर कालापानी जाने कुरा उठ्यो भने नेपाली सेनाको मुटु काम्छ रे ।' तर उनले सेनाभित्रको राष्ट्रवादी धार अझै जीवित रहेको भन्दै आशा र विश्वास पनि ब्यक्त गरेका छन् ।

कालापानी भारतीय सेनाले विगत लामो समयदेखि कब्जा जमाएर बसेको छ भने नेलाी महत्वपूर्ण भूभाग लिपुलेकलाई भारत र चीनले त्रिदेशीय मार्गको रुपमा प्रयोगमा ल्याउने हस्ताक्षर गरिसकेको अबस्था छ । सो बारेमा राष्ट्रवादी नेपालीहरुले विरोध जनाएता पनि सरकार र त्यसमातहतका सुरक्षा निकायले 'चु' बोलका छैनन् ।सिटि पोष्टबाट साभार