काठमाडौं : देशमा बढिरहेको करवृद्धि प्रति राष्ट्रिय जनमोर्चा नेपालले तीव्र विरोध जनाउदै संघीयता खारेजीको लागी अान्दोलनमा जाने भएको छ ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा 'अहिले भइरहेको करवृद्धि संघीयताको नै परिणाम' भनिएको छ। विज्ञप्तिमा प्रादेशिक संरचनाको बढेको खर्चले गर्दा नै सरकारले कर बढाउँदै लगेको उल्लेख छ। 'त्यसैलै संघीयता खारेज गरेर नै अहिलेको बढेको करलाई कम गर्न सकिन्छ र गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत छ', विज्ञप्तिमा भनिएको छ।
संघीयता खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्न माग गरिएको छ। 'त्यस प्रकारको प्रजातान्त्रिक विकेन्द्रीयताका पक्षमा आधार तयार पार्नका लागि स्थानीय तहलाई अरू शक्तिशाली र अधिकारसम्पन्न बनाउनु पर्ने आवश्यकता छ',विज्ञप्तिमा भनिएको छ।
स्थानीय तहमा बढिरहेको करवृद्धिप्रति जनमोर्चा नेपालले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई कम गर्ने अहिलेको आवश्यकता भएको जनाइएको छ। संघीयता अन्तर्गत प्रादेशिक संरचनाको अत्यधिक खर्च बढेको हुनाले स्थानीय तहलाई केन्द्र सरकारबाट मिल्ने अनुदान धेरै नै कम भएको विज्ञप्तिमा उल्लेख छ।
करमा वृद्धिका हुनुका साथै देशमा महंगी र भ्रष्टाचार पनि धेरै बढेर गएकाले करमा भएको वृद्धिका साथै महंगी, भ्रष्टाचार तथा संघीयतासमेतका विरुद्ध देशव्यापी रूपमा आन्दोलन गर्नका लागि पनि जनमोर्चाले सम्पूर्ण जनतासित अपिल गरेको छ।
त्यसका लागि जमोर्चाले भदौ र असोज दुई महिनासजिल्ला स्तरमा विभिन्न जिल्लाहरूले आफ्नो कार्यक्रम बनाएर उक्त विषयहरूमा आन्दोलन संगठित गर्नका लागि पार्टीका सबै समिति, सदस्य तथा समर्थकसँग अनुरोध गरेको छ।