काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । संघीय संरचनाअनुसार पार्टीका संगठनात्मक संरचना निर्माण गर्नका लागि विधान संशोधन गर्न समिति गठन गरिएको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । विधानको धारा २४ (८) मा केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकारअन्तर्गत सभापतिले ‘केन्द्रीय विभाग एवं अन्य केन्द्रीय निकायका प्रमुख र सदस्यहरूको नियुक्ति, मनोनयन वा हेरफेर गर्ने’ व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्य समितिको गत वैशाख १६ गते सम्पन्न बैठकले मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीका संगठनात्मक संरचनाहरूलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिको सदस्यमा केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।
समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफैं तयार गरी लागु गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए । उनका अनुसार आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरूलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार समितिका संयोजकलाई प्रदान गरिएको छ ।
आज केन्द्रीय समिति बैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति, महासमिति बैठकको तयारी, विधान र विभागका सन्दर्भका अतिरिक्त मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो तथा स्थानीय तहमा करवृद्धिका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
बैठकमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सँग पार्टी एकता गर्दा भएका सहमति कार्यान्वयनबारे समेत छलफल हुने बताइएको छ ।
प्रहरी दमनको निन्दा
कांग्रेसले कञ्चनपुरमा बिहीबार बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा पक्राउ गर्न माग गर्दै स्थानीयबासीले गरेको विरोध प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा गरेको छ । मुख्यसचिव पौडेलले विज्ञप्ति जारी गर्दै घटनाबारे सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘अबोध बालिकाको बलात्कार पश्चात हत्याजस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानबिन गरेर अपराधीलाई कडा सजाय दिनुपर्ने दायित्व सरकारको हो,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानमा ढिलाइ र कमजोरी हुँदा त्यसले सम्बन्धित परिवारजनलाई चोट त पुग्छ नै, गाउँ समाज नै आक्रोशित बन्ने अवस्था बन्छ । कुनै निर्दोषलाई दोषी भनेर करार गरिएको आशंका हुँदा त्यसले झनै विद्रोह जन्माउँछ ।’ उनले बिहीबार भएको जनप्रदर्शन पछिल्तिरका भावनालाई सरकारले संयमितपूर्वक आत्मसात गर्नुपर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जनभन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सिर्जना गर्ने कर्मको कांग्रेसले घोर भत्र्सना र निन्दा गरेको उल्लेख गरेका छन् ।
गठित उच्चस्तरीय छानबिन समितिमार्फत समग्र घटनाको गहन र निष्पक्ष छानबिन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।