काठमाडौँ: घरैमा मृत फेला परेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको प्राराम्भीक निचोड प्रहरीले निकालेको छ।
घटनास्थलको प्रकृतिबारे अनुसन्धान गरेपछि महानगरीय प्रहरी परिसरले यस्तो निचोड निकालेको हो । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजे भुइँतलामा सुत्न गएका उनको मृत्युलाई हत्या ठहर गर्दै अनुसन्धान अघि बढाइएको हो ।
बिहान चिया खान उठाउन खोज्दा झा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। झा सुतेको कोठाको झ्यालकाे जाली काटेको पाईएको छ भने उनी सुतेको कोठामा एउटा चक्कु पनि बरामद भएको छ।
परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । 'घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि', उनले भने ।
मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । झाको टाउकोमै गाडिएको अवस्थामा चक्कु गाडिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।
आफ्नै निवासमा शंकास्पद अवस्थामा झा मृत भेटिएपछि प्रहरीले उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ ।
छोरा-बुहारी आयरल्यान्डतर्फ लागेको भोलिपल्ट झाको हत्या भएको हो । छोरा बुहारी विदेश गएपछि घरमा श्रीमती र सुरक्षागार्ड मात्रै थिए । घरमा अन्य कोही नभएको अवस्थामा अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख लामाले बताए । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।
प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछ गरेको छ। ८० वर्षीय झाको टाउकोमा चक्कु गाडिएको भेटिएको थियो । टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको हत्या भएको निचोड निकालेको हो ।
‘हामीले घटनाबारे सोधपुछ थालिसकेका छौँ', काठमाडौंका एसएसपी बसन्त लामाले अगाडि भने,'छिट्टै नै सत्य-तथ्य बाहिर ल्याउँछौं ।’अन्नपूर्णपोष्ट अनलाईनबाट