काठमाडौँ, भदौ ३ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षभित्र समृद्ध नेपालको खाका तयार हुने बताएका छन् ।
नेपालमण्डल पर्यटन नगरीद्वारा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उक्त धारणा राखेका हुन् ।
वर्तमान सरकार जनताप्रति समर्पित भएको विश्वास दिलाउने जिम्मेवारी नेतृत्वको काँधमा आएको बताउँदै उनले भने।
उनले तराई मधेश, पहाड र हिमाललाई जोड्ने महान् अभियानमा फेरि एकचोटी सबै एकताबद्ध हुन आवश्यक भएको बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक, सांस्कृतिक रूपान्तरणसम्मका विशिष्ट पक्षमा योगदान गरेका व्यक्तिका चित्रकलामार्फत इतिहासलाई स्मरण गर्ने प्रयास सरहानीय भएको बताए।
कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीले जनताको बलमा सत्तामा पुगेका नेतृत्वले सोही अनुरुप चित्रकलालाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए ।
अंशुवर्माले निर्माण गर्नुभएको कैलाशकुट भवनबारे स्मरण गर्नुुहुँदै उनले जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना चित्रकारले आ–आफ्ना कलामा समावेश गर्नुपर्ने आवश्यकताबोध गराए ।

महिला नेत्री शान्ता श्रेष्ठल विगतका इतिहासलाई स्मरण गर्नु आवश्यक भएको बताउँदै चित्रकला एउटा राम्रो पक्ष भएको स्पष्ट पारेका थिए ।
आयोजक संस्थाका अध्यक्ष कृष्ण केसी, सचिव विनोद महर्जनलगायतले नेपालको कला, संस्कृति र इतिहास झल्कने नेपालमण्डल पर्यटन नगरीबारे धारणा राखे ।
संस्कृतिविद् जोशीलाई अभिनन्दन गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, जनगायक जेबी टुहुरे र जीवन शर्मा, महिला नेत्री शान्ता श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
एक सातासम्म चल्ने प्रदर्शनीमा ३९ कलाकारका ५१ वटा चित्र प्रदर्शनीमा राखिएको छ । केही महिनाअघि चन्द्रागिरि पर्वतमा गरिएको कार्यशालामा कलाकारहरुले ती चित्रहरु कोर्नुभएको जानकारी आयोजक संस्थाका सदस्य बेखाराम बलामीले जानकारी दिए ।
गोरखापत्रबाट