काठमाण्डाैं । झापाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले हुलाकी राजमार्ग निर्माणमा भइरहेकाे ढिलाइकाे कारण माग गरेका छन् ।
संघीय संसद विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा सांसद लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमक्ष ग्रामीण भेगका जनताकाे दैनिक जीवनयापननै जटिल बन्दै गएकाे भन्दै हुलाकी राजमार्ग निमार्ण प्रकृयालाई तीब्रता दिन माग गरेका छन् ।
उनले भने, “वर्षाैपछि मेचीपुल बनेकाे छ, तर त्याे सूचारु हुन सकिरहेकाे छैन,त्याे कहिलेबाट सरर माेटर चल्ने हुन्छ ?” यस्तै उनले ठेकेदारकाे लापरवाहीले कचनकवल गाउँपालिका भित्रका भइरहेकाे बाटाे पनि हिड्नै नसक्ने भएकाे भन्दै भने, ” पहिला त अलिअलि राम्राै थियाे, बनाउने नाममा खनेर यतिकै छाडिएकाे छ, एम्बुलेन्स पनि जान सक्ने अवस्था छैन , ठेकेदारलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क पनि हुँदैन , त्याे के भएकाे हाे, जनताले कहिले सहज अावतजावत गर्न पाउँछन् ?”
यस्तै उनले झापाकाे मुख्य व्यापारिक केन्द्रकाे रुपमा रहेकाे विर्तामाेडदेखि सदरमुकाम भद्रपुर जाने सडक निर्माणमा भइरहेकाे ढिलाइ प्रति पनि मन्त्री महासेठकाे ध्यानाकर्षण गराएका छन् ।
बषाैंदेखि निर्माणकाे चरणमा रहेकाे विर्तामाेड भद्रपुर सडक वर्खाकाे समयमा अावागमननै अवरुद्ध हुने गरेकाे छ ।
उनले सैनिकमोड-गोलधाप-घेरावारी सडक निर्माण सुरु कहिलेबाट हुन्छ भन्दै मन्त्री महासेठलाई प्रश्न पनि गरे ।
साथै उनले मन्त्रालय अन्तर्गत बन्दै गरेका देशैभर बनिरहेका सडक र पुलकाे विवरण पनि माग गरेका छन् ।
खबरमन्च डटकमबाट