काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागी २७ दिनदेखि अनसनरत डा. गोविन्द के.सी जुनसुकै बेला पनि कोमामा जान सक्ने बताईएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको, शरीरमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून भएको,रगतमा चिनीको मात्रा अत्यन्त कम भएको कारण उनका उपचारमा संलग्न चिकित्सकहरुले जुनसुकै बेला उनी कोमामा जान सक्ने बताएका हुन् ।
त्यसै गरी के.सीको रक्तचाप पनि अत्यन्त कम रहेकाले कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने पत्रकार सम्मेलनमा बताईएको हो।
पत्रकार सम्मेलनमा बोल्दै डा. लक्ष्मण भुषालले डा.केसीले होस गुमाउदै जान थालेको बताए । ‘हिजो भर्खर मैले आफै बसेर सरको रगत जाँचको लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ,’ उनले भने । केहीदिन यही अवस्था रहे दिमागमा गम्भीर असर पर्न गइ अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था पनि आउन सक्ने उनले बताए ।
चिकित्सकहरुका अनुसार, यो अवस्थाको बिरामीलाई आर्इसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आर्इसीयूमा नजाने बताएकाले आईसीयूमा लगिएको छैन ।
सरकारले केसीको जीवन रक्षाका लागि भन्दै जुम्लाबाट काठमाडौं ल्याए पनि उनको उपचारका लागि त्रिवि शिक्षण अस्तालमा मेडिकल टिम नै बनेको छैन।
आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आइरहेका छन् ।