काठमाडौं – सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका संसदीय समितिहरूमा रहने सांसदहरूको नाम नपठाउँदा संसदीय समिति गठनमा ढिलाइ भएको र अब पनि नपठाए सभामुखलाई प्राप्त अधिकारको प्रयोग गर्दै अगाडि बढ्ने बताएका छन्। उनले अब नेपाली कांग्रेसलाई ‘छोटो समय पर्खिने’ र नआए आफ्नो अधिकार प्रयोग गर्दै एक हप्ताभित्र समिति गठन गर्ने बताएका हुन्।
सिंहदरबारमा पत्रकारहरूसँगको कुराकानीमा उनले सो कुराको घोषणा गरेका हुन्। सभामुख महराले पटकपटक दलहरूलाई समितिमा रहने सदस्यहरूको नाम बुझाउन समय दिइएको बताए। ‘यो सभामुखकै काम हो तर हामीले दलहरूलाई नाम बुझाउन समय दिएका छौं’, महराले भने, ‘तीन दिनको समय दिनेछु। उहाँहरूले नाम नबुझाए कांग्रेस सांसदहरूको नाम मैले नै भाग लगाइदिनुपर्ने हुन्छ।’
उनले यसअघि नै दलहरूलाई ५ दिनको समय दिएको तर दलहरूले १० दिनसम्म पनि नाम नबुझाएको बताए। ‘कांग्रेस सांसदका नाम समानुपातिक ढंगले बाँडेर घोषणा गर्ने दिन नआओस्’, महराले भने, ‘कांग्रेसले त्यसो नगर्ला भन्ने छ।’ उनले एक साताभित्र संसदीय समिति घोषणा भैसक्ने दाबीसमेत गरे।
संसदको पहिलो बैठक फागुन २१ गते बसेको थियो। त्यसयता लामो समय बित्दा पनि संसदीय समिति गठन हुन सकेका छैनन्। जसका कारण विभिन्न संवैधानिक निकाय, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, विभिन्न देशका लागि राजदूतलगायतको नियुक्ति र संसदीय सुनुवाइ हुन सकेको छैन भने विकास निर्माणका काममा संसदको निगरानी हुन सकेको छैन। संसदीय समिति गठन गर्नका लागि पहिलोपटक जेठ २८ गते सभामुखले दलहरूको बैठक बोलाएर पाँच दिनभित्र संसदीय समितिमा रहने सांसदहरूको नाम बुझाउन भनेका थिए।
उक्त समयमा कुनै पनि दलले नाम नबुझाएपछि त्यसको १० दिनपछि फेरी तीनदिनिभित्र नाम बुझाउन सभामुखको कार्यालयले ताकेता गरेको थियो। उक्त मिति पनि गुज्रिइसकेको छ। यो समयमा नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम नेपालले नाम बुझाएको छ भने राजपाले केही नाम बुझाएपनि औपचारिक पत्र पठाएको छैन। संसदमा चार दलको प्रतिनिधित्व रहेको छ। साना दलहरू स्वतन्त्र रूपमा रहेका छन्। उनीहरूलाई पनि कुनै न कुनै समितिमा समेट्ने योजनामा रहेको सभामुख महराले बताए।