रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपुर्जा वितरण भइसकेको बताए । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । वर्षौँदेखि जग्गा जोत भोग गर्दै आए पनि लालपुर्जा नहुँदा नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले अब त्यस्ता समस्या समाधान हुँदै गएको बताए ।
गाउँपालिकाको उपाध्यक्ष नर्वदा देवी उपाध्यायले लालपुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिँदै सामूहिक प्रयास र सहकार्यबाट यो काम सम्भव भएको बताए ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मायादेवी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकासँग समन्वय र सहकार्य भइरहेको बताए ।
२०२७ सालमा गाउँब्लकका रूपमा छाडिएका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामीत्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उनले बताए । बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाबाट समन्वय र सहयोग आवश्यक रहेको उनले बताए ।
अहिले १४८ जनालाई लालपुर्जा वितरण गरिएको उल्लेख गर्दै उनले संख्या थोरै देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धि भएको बताए । साथै लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले करिब ५६ वर्षपछि नागरिकले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको बताए । उनले यस कार्यमा योगदान पु¥याउने कर्मचारी र जनप्रतिनिधिप्रति आभार व्यक्त गरे । लालपुर्जा केवल रातो कागजको टुक्रा नभई नागरिकको जग्गामाथिको कानुनी स्वामीत्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रमाण भएको उनको भनाइ थियो ।
लालपुर्जा प्राप्त भएपछि नागरिकले भोग्दै आएका विभिन्न कठिनाइ अन्त्य हुने उनले बताए । मायादेवी गाउँपालिकामा भू–उपयोग वर्गीकरणको काम सम्पन्न भइसकेको र जग्गा कित्ताकाटको कामसमेत सुचारु भइसकेको उनले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले २०२७ सालमा नापी भए पनि गाउँब्लकका रूपमा रहेका जग्गाको लालपुर्जा नागरिकले ५६ वर्षपछि प्राप्त गरेको बताए । यसबाट स्थानीय बासीमा खुसी छाएको उल्लेख गर्दै उनले वडाका बाँकी गाउँमा पनि लालपुर्जा वितरणका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए । समस्या समाधानका लागि कर्मचारीहरूले अहोरात्र खटेर काम गरेको उनले बताए ।
नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सूर्य बहादुर कार्कीले पुस्तौँदेखि जग्गाको कानुनी स्वामीत्व र पहिचानको प्रतीक्षामा रहेका नागरिकका लागि लालपुर्जा प्राप्त हुनु ऐतिहासिक उपलब्धि भएको बताए । यसले नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्तिको सुरक्षा र आर्थिक तथा सामाजिक हैसियत मजबुत बनाउने आधार बनेको उनको भनाइ थियो ।
लालपुर्जा प्राप्त गरेका स्थानीय राकेश कुमार पाण्डेयले जग्गाको पुर्जाका लागि वर्षौँदेखि प्रयास गर्दै आएको बताए । लालपुर्जा नहुँदा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उनले पुर्जा प्राप्त भएपछि आफूहरू निकै खुसी भएको बताए ।
‘लालपुर्जा पाउँदा हामी एकदमै खुसी भएका छौँ, खुसीको कुनै सीमा नै छैन,’ उनले भने ।