भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार(आज) हुने भेटवार्तामा सीमा विवाद र थप हवाई प्रवेश मार्गको विषयले औपचारिक एजेन्डामा स्थान नपाउने संकेत देखिएको छ। आधा घण्टाका लागि तय भएको दुई प्रधानमन्त्रीबीचको ‘वान टु वान’ वार्ता र त्यसपछिको प्रतिनिधिमण्डलस्तरीय छलफलमा यी विषय समावेश नभएको प्रधानमन्त्रीको भ्रमण टोलीका अधिकारीहरूले बताएका छन्। यद्यपि अन्तिम समयसम्म सहमतिका लागि प्रयास जारी रहेको जनाइएको छ।
भ्रमणका क्रममा ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ अवधारणाअन्तर्गत १० बुँदे संयुक्त दृष्टिकोणमा सहमति गर्ने तयारी छ। यसमा व्यापार तथा आर्थिक साझेदारी, ऊर्जा, जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, खेलकुद र प्रविधिलगायतका विषय समेटिएका छन्।
त्यसैगरी जनकपुर–अयोध्या रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर बौद्ध सर्किट र पशुपतिनाथ–वाराणसी शिव–शक्ति सर्किट विकास गर्ने विषय पनि प्राथमिकतामा छन्। सहमति कार्यान्वयनको अनुगमन गर्न दुवै देशका प्रतिनिधि सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउने तयारी छ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्रीले स्वागत गरेका थिए। त्यसपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग भेट गरी सोमबार हुने उच्चस्तरीय वार्ताबारे छलफल गरेका थिए।
नेपालले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। तर यस विषयमा भारतले अझै सहमति जनाएको छैन। सीमा विवादको विषय पनि औपचारिक छलफलमा समेटिने निश्चित भएको छैन।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै केही विकास परियोजनाको उद्घाटन, शिलान्यास र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। उच्चस्तरीय भेटवार्तापछि प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ।