राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा घटनामा एक नेपाली युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
राप्रपाले घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जोसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ। दण्डहीनताको संस्कृतिले यस्ता घटना दोहोरिन सहयोग पुग्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने पार्टीको धारणा छ।
विज्ञप्तिमा तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद दोहोरिने क्रमप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। हिन्दु समुदाय लक्षित घटनाहरूको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न र सर्वपक्षीय समिति गठन गरेर तत्काल संवाद सुरु गर्न सरकारसँग राप्रपाले आग्रह गरेको छ।
राप्रपाले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति स्वीकार नगर्ने स्पष्ट गर्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र नागरिक सुरक्षाको पक्षमा दृढतापूर्वक उभिने जनाएको छ।
साथै, शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति गराउन आवश्यक कदम चाल्न तथा सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न आम जनसमुदायसँग अपिल गरेको छ।