काठमाडौँ । नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो १४औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला र साहित्यिक पत्रकारितामार्फत समाजमा योगदान पुर्याएका विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई ‘कबा सम्मान तथा पुरस्कार–२०८२’ प्रदान गरिएको हो।
वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक तथा कवि त्रिलोचन आचार्य र कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
साहित्य सदन, रामहिटी–बौद्धमा आयोजित कार्यक्रममा उपस्थित सबै अतिथिलाई नै प्रमुख अतिथिका रूपमा स्वीकार गरिएको थियो। कार्यक्रममा कबा विशिष्ट सम्मान विष्णु पन्तलाई, कबा सम्मान वासुदेव पौडेल र शम्भु प्रकृतिलाई तथा महेन्द्र–इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कार कपन अनलाइनका सम्पादक पुण्यराज पुडासैनीलाई प्रदान गरिएको थियो।
त्यसैगरी, २०८२ सालमा ‘कबा’मा प्रकाशित उत्कृष्ट रचनामध्ये नालाङ कबा रचना पुरस्कार भलाद्मी भोलाले, पुष्करप्रसाद–श्यामा स्मृति कबा रचना पुरस्कार अंशु भट्टले, अविरल गङ्गा कबा रचना पुरस्कार (मोफसल) विश्वजित गुप्ताले, हेमगङ्गा बाल रचना पुरस्कार भावना बरालले तथा भमरकोटे कबा सुसेली रचना पुरस्कार कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ले प्राप्त गरे।
समारोहमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई विभिन्न साहित्यकार, पत्रकार, कलाकार तथा संरक्षकहरूले टीका, खादा, सम्मानपत्र, सास तथा सम्बन्धित पुरस्कारको नगद राशि प्रदान गरेका थिए।
कार्यक्रममा कबाका संरक्षक गङ्गा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने स्तम्भकार तथा कवि त्रिलोचन आचार्यले कबा साहित्यकार उपचार कोष र यसका संरक्षक तथा दाताहरूको योगदानबारे जानकारी गराएका थिए। कबाका व्यवस्थापक विमल कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए भने दुर्गा अधिकारी ‘भमरकोटे’ले पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए।
आसन र औपचारिक लामो भाषणविहीन रूपमा सम्पन्न कार्यक्रमको समापन उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले संक्षिप्त मन्तव्यसहित गरेका थिए। कार्यक्रमको सञ्चालन कविता दाहालले गरेकी थिइन्।