काठमाडौँ । इरानमा २८ डिसेम्बर २०२५ देखि मुल्यवृद्धिविरुद्ध चलेको देशव्यापी आन्दोलनमा ठूलो संख्यामा नागरिकहरु मारिएका थिए । इन्टरनेट बन्द गरेर प्रदर्शनकारीमाथि दमन गरिएकाले मृतकको यकिन संख्या बाहिर आउन पाएन । त्यतिबेला इरानले इजरायल र अमेरिकाको उक्साहटमा आफ्नो देशमा आन्दोलन चलिरहेको आरोप लगाएको थियो ।
अलजजिराको अनुसन्धानात्मक समाचारले ‘फ्रि द पर्सियन पिपुल’ ह्यासट्यागलाई संयोजित रुपमा फैलाउने काममा इजरायली अधिकारी तथा इजरायल पक्षधरहरु संलग्न भएको देखाएको थियो । इरानमा सुरुवाती दिनमा आन्दोलन चर्काउन सामाजिक सञ्जालको ठूलो भूमिका थियो ।
अर्कोतर्फ, प्रदर्शनकारीमाथि इरान सरकारको दमन उच्च थियो । ८ र ९ जनवरीमा स्थानीय अस्पताल आन्दोलनकारीले भरिएका थिए । अमेरिकाको टाइम डटकमलाई इरानको स्वास्थ्य मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसार ८ र ९ गतेमात्रै झन्डै ३० हजार आन्दोलनकारी मारिएका थिए ।
बेलायतबाट सञ्चालन हुने पर्सियन भाषाको वेवसाइट इरान इन्टरनेशनलले ३६ हजारभन्दा धेरै मानिस आन्दोलनका दौरान मारिएको रिपोर्ट गरेको थियो ।
इरानमा रक्तपात चलिरहेको समय अमेरिकाले आफ्नो अब्राहम लिंकन युद्धपोत अरब समुद्रतर्फ पठाएको थियो । १३ जनवरीमा इरानका आन्दोलनकारीहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘इरानी राष्ट्रवादीहरु विरोध जारी राख्नुस् । आफ्नो संस्थाहरु लिनुस् । सहयोग बाटोमै छ ।’
आन्दोलनमा सम्भावित हस्तक्षेप र आक्रमणलाई लिएर इरान र इजरायलबीच तयारी चलिरहेको थियो ।
अमेरिकी सञ्चारमाध्यम न्युर्योक टाइम्समा प्रकाशित विश्लेषणात्मक समाचारअनुसार इजरायली गुप्तचर निकाय मोसादका प्रमुख डेभिड बर्निया यहीबीच आफ्नो योजनासहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहु समक्ष पुगेका थिए । अमेरिका–इजरायलले हवाई आक्रमण गर्दा इरानमा आन्दोलन चर्कने, इस्लामिक सत्ता कमजोर हुने र संभवतः पतन समेत हुनसक्ने उनको निष्कर्ष थियो ।
नेतान्याहुले शासन परिवर्तनको यही योजना अंगिकार गर्दै युद्धको तयारी थाले । मध्य जनवरीमा वासिङटन भ्रमणमा छँदा मोसाद प्रमुख बर्नियाले यही योजना ट्रम्प प्रशासनका अधिकारीहरुलाई सुनाए । ट्रम्प प्रशासनका केही अधिकारीहरुलाई यस्तो योजना सार्थक हुनेमा शंका थियो । तर, ट्रम्प धेरै आशावादी देखिए ।
न्युयोर्क टाइम्सले अमेरिका र इजरायलका विभिन्न ( बहालवाला तथा पूर्व) अधिकारीहरुसँगको कुराकानीबाट यी वार्तालाप उद्रृत गरेको छ । तर, उनीहरुको नाम गोप्य राखिएको छ ।
बर्नियाले यस्तो योजना सुनाइरहेका बेला ओमानको नेतृत्वमा अमेरिका–इरानबीच अप्रत्यक्ष वार्ता पनि चलिरहेकै थियो । वार्ता सकारात्मक रहेको दुबै पक्षका प्रतिनिधिहरुले बताएका थिए ।
तर इजरायलसँग मिलेर भित्रभित्रै ट्रम्पले युद्धको तयारी गरिरहेका थिए । फेब्रुअरीको दोस्रो साता ट्रम्पले दोस्रो युद्धपोत युएसएस गेराल्ड फोर्डलाई पनि पश्चिम एशियातर्फ जान निर्देशन दिए ।
२७ फेब्रुअरीमा ओमानको मध्यस्थतामा जेनेभामा अर्को चरणको वार्ता भयो, उक्त वार्ता निकै फलदायी रहेको इरान र अमेरिकी अधिकारीहरुको दाबी थियो ।
तर, भोलिपल्टै अमेरिका–इजरायलले तेहरानमा बम वर्षक विमानहरुमार्फत आक्रमण गरे । सर्वोच्च नेताको निवाससहित रिभोलुशनरी गाड्र्स कोप्र्स (आईआरजीसी) को मुख्यालयमा निशाना साँधियो ।
आक्रमणमा सर्वोच्च नेता आयतुल्लाह खामेनेइ, आईआरजीसीका कमाण्डर मोहम्मद पाक्पोर र रक्षामन्त्री अजीज नसिरजादेह मारिए । किनकी त्यतिबेला उनीहरु सबै सर्वोच्च नेताको निवासमा भेला भएका थिए ।
ट्रम्पले आयतुल्लाह खामेनेइ मारिएको जानकारी दिदैं आन्दोलनकारीलाई भनेका थिए, ‘तपाईहरु सरकार लिनुस् । यो तपाईहरुको भयो । तर, बम आक्रमण चलिरहेकाले केही दिन कतै आश्रय लिएर सुरक्षित बस्नुस् ।’
यतिबेलासम्म अमेरिकाले जितेजस्तो देखिन्थ्यों । तर, तीन साता युद्ध चल्दा पनि आन्दोलनकारीले सडक तताउन सकेनन् । अमेरिका–इजरायलले यस अवधिमा अर्धसैन्य बासिज दस्ताका कमाण्डर घोलमरेजा सुलेमानी, सुरक्षा सचिव अली लारिजानी र आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनीसहित ७० जनालाई मारिसकेका छन् ।
खामेनेइका छोरा मोज्ताबा खामेनाइलाई नयाँ सर्वोच्च नेता घोषणा गरेपनि उनले सार्वजनिक हुने साहस जुटाएका छैनन । तर, यी सबै परिस्थितीका बाबजुद इरानको सत्ता टसमस भएको छैन । सडकमा आईआरजीसीका जवानहरु राइफल बोकेर बोकेर बसेका छन् ।
‘आन्दोलनको बृहद उभार ल्याउन इजरायल र अमेरिकाले गरेको आक्रमणले सहयोग गर्ने जुन विश्वास थियो । त्यही नै पश्चिम एशियामा फैलिएको युद्धको आधारभूत गल्ती बन्यो,’ न्युयोर्क टाइम्सको समाचारमा लेखिएको छ, ‘ढल्नुको साटो इरानको सरकारले अझै युद्धलाई बढायो । पश्चिम एशियाका सैन्य पूर्वाधार, शहर र पर्सियन गाडीमा जहाजहरुमाथि ठूलो आक्रमण र प्रत्याक्रमण गर्यो ।’
हर्मुजको खाडीमा इरानले गरेको अवरोधले अहिले विश्वको २० प्रतिशत ग्यास तथा तेल पश्चिम एशियाबाट बाहिरिन पाएको छैन । अर्कोतर्फ, इरानले कतार, साउदी, युएई र कुवेतका तेल तथा ग्यास पूर्वाधारमा ठूलो क्षति पुर्याइदिएको छ ।
यसले विश्वव्यापी रुपमा कच्चा तेल तथा ग्यासको अभाव र मुल्यवृद्धि देखिएको छ । हवाई उडानहरु नराम्रोसँग प्रभावित भएका छन् । अमेरिकामै मुल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको आक्रमणमा १ हजारभन्दा धेरै मारिएका छन् । यसका बाबजुद पनि हिजबुल्लाहले प्रत्याक्रमण छाडेको छैन । इरानमा मारिनेको संख्या १५ सय हाराहारी पुगिसकेको छ ।
नेतान्याहुले अझै पनि अमेरिका–इजरायलको हवाई आक्रमणलाई जमिनमा सेना परिचालन गरेर सहयोग गर्नुपर्ने वकालत गरिरहेका छन् । ‘तपाईले आकाशबाट क्रान्ति गर्नसक्नुहुन्न,’ गत बिहीबार पत्रकार सम्मेलनमा नेतान्याहुले भनेका थिए, ‘यसमा जमिन पनि आवश्यक पर्छ । यी सबै संभावनाहरुबारे अहिले तपाईहरुलाई नभन्ने छुट मलाई छ ।’
उनले थपे, ‘अमेरिका–इजरायलले सडकमा उत्रनका लागि बनाइदिएको वातावरणलाई इरानका जनताले उपयोग गर्नेछन् भन्नु हतारो हुनेछ । तर मलाई आशा छ । हामी त्यही अन्त्यलाई मध्यनजर गरेर काम गर्दैछौं । तर, निर्भर इरानी जनतामै हुनेछौं ।’
पर्दापछाडि भने नेतान्याहुले चिन्ता प्रकट गरेको न्युर्योक टाइम्सको समाचारमा उल्लेख छ । युद्ध सुरु भएपछिको एउटा सुरक्षा बैठकमा उनले ट्रम्पले कुनै पनि दिन युद्ध अन्त्य भएको निर्णय गर्नसक्ने बताएका थिए । मोसादको अपरेशन फलदायी नभएको धारणा उनले राखेका थिए ।
तर, ट्रम्प के चाहन्छन्, स्पष्ट छैन । उनले सोमबार इरानसँगको वार्ता फलदायी भएको दाबी गर्दै ५ दिनसम्म इरानका सैन्य पूर्वाधारमा आक्रमण नगर्ने बताएका छन् । इरानी सत्ताका प्रभावशाली व्यक्तिसँग वार्ता भइरहेको उनको दाबीलाई इरानले खण्डन गरेको छ ।
अमेरिकी पूर्व अधिकारीहरुका अनुसार ट्रम्पलाई इरानी सत्ता ढाल्ने विषयमा आश्वस्त गराएरै नेतान्याहुले यो युद्धमा होमेका थिए । तर, इजरायलले इरानमा आन्दोलनको आँधिहूरी ल्याउन सफल हुने कुरामा अमेरिकाका सुरक्षा अधिकारीहरुलाई पहिल्यै शंका थियो ।
मोसादका धेरै योजना गोप्य नै रहन्छन् । तर, उत्तरी इराकमा रहेका इरानी कुर्दिस मिलिसिया समुहलाई उसले गर्ने सहयोग ओपन सेक्रेटजस्तै छ । पछिल्ला वर्षहरुमा सिआईए र मोसादले कुर्दिस दस्तालाई हतियार र अन्य धेरै सहयोग दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
तर, कुर्दिसहरुलाई इरानमा छद्म समुहका रुपमा परिचालन गर्ने इजरायलको योजनामा अमेरिकी अधिकारीहरु धेरै इच्छुक भएजस्तो देखिन्न । ७ मार्चमा ट्रम्पले कुर्दिस नेताहरुलाई इरानमा मिलिसिया पठाउनु पर्दैन भनेका थिए । ‘म कुर्दिसहरु मारिएको वा घाइते भएको हेर्न चाहन्न,’ उनले भनेका थिए ।
जारी इरान युद्धमा कहाँ कति मारिए ?
इरानः १,५०० मृत्यु, १८,५५१ घाइते
लेबनानः १,००१ मृत्यु, २,५८३ घाइते
इराकः ६१ मृत्यु, दर्जनौं घाइते
इजरायलः १८ मृत्यु, ४,६९७ घाइते
अमेरिकी सेनाः १३ मृत्यु, २०० घाइते
प्यालेस्टाइनः ४ मृत्यु
सिरियाः ४ मृत्यु
कुवेतः ६ मृत्यु, कम्तिमा २४ घाइते
बहराइनः २ मृत्यु, कम्तिमा २४ घाइते
युएईः ८ मृत्यु, १६० घाइते
ओमानः ३ मृत्यु, १५ घाइते
साउदी अरबः २ मृत्यु, २० घाइते
जोर्डनः २८ घाइते
कतारः १६ घाइते
(विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार)