काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयसँगै नेपाली राजनीतिका सबैभन्दा दीर्घकालीन र प्रभावशाली पात्रमध्ये एक, शेरबहादुर देउवा को ३४ वर्ष लामो संसदीय यात्रामा औपचारिक रूपमा बिराम लागेको छ ।
२०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा यस पटक उम्मेदवारी नदिँदा एउटा युगको संसदीय अध्याय टुंगिएको अनुभूति कांग्रेस वृत्तदेखि सुदूरपश्चिमसम्म फैलिएको छ ।
यस पटक पनि देउवा डडेलधुरा कांग्रेसबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका थिए । तर काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले उनलाई पार्टी सभापतिबाट हटाउँदै गगन थापा लाई कांग्रेसको नेतृत्व सुम्पिएपछि देउवा उम्मेदवारीबाट पछि हटे । विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै देउवा पक्षले निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले थापा नेतृत्वको नेपाली कांग्रेस लाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । कानुनी लडाइँ जारी रहे पनि देउवाको संसदीय राजनीति भने यहीँ रोकिन पुगेको छ ।
देउवाको राजनीतिक जीवन ६ दशकभन्दा लामो छ । २०२२ सालमा राजनीति थालेका देउवा २०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बने । २०२८ मा नेविसंघको पहिलो सभापति हुँदै उनले विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ पाइला सारे । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि संसदीय राजनीतिमा उदाएका देउवा त्यसयताका हरेक निर्णायक मोडमा केन्द्रमै रहे । कहिले सत्ताको नेतृत्व, कहिले प्रतिपक्षको कमान—उनी सधैं शक्ति राजनीतिका मुख्य खेलाडी बने ।
२०४८ सालको निर्वाचन देउवाको संसदीय यात्राको ऐतिहासिक सुरुआत थियो । डडेलधुराबाट पहिलो पटक उम्मेदवार बनेका उनले खसेको मतको ७०.५ प्रतिशत प्राप्त गर्दै एमालेका गोविन्दप्रसाद कलौनीलाई पराजित गरे । त्यही निर्वाचनमा सुदूरपश्चिम कांग्रेसको समग्र चुनावी नेतृत्व उनले सम्हालेका थिए । १९ सिटमध्ये १८ सिटमा कांग्रेसलाई जित दिलाउँदै देउवा सुदूरपश्चिमको निर्विवाद नेता बने । पहिलो पटक निर्वाचित भएलगत्तै गृहमन्त्री बनेका उनी त्यसपछि कहिल्यै सत्ताको परिधिबाट बाहिरिएनन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा उनले नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु) लाई ६१.७५ प्रतिशत मतसहित पराजित गरे । त्यसको एक वर्षमै, २६ भदौ २०५२ मा देउवा पहिलो पटक प्रधानमन्त्री बने । डेढ वर्षको कार्यकालपछि पनि उनको सत्तारोहणको क्रम रोकिएन । २०५६ को निर्वाचनमा ६४.६८ प्रतिशत मतसहित एमालेका बागेश्वरीदत्त चटौतलाई पराजित गरेपछि उनी ७ साउन २०५८ देखि दोस्रो पटक प्रधानमन्त्री बने । २१ जेठ २०६१ मा आठ महिनाका लागि तेस्रो पटक प्रधानमन्त्री हुँदा देउवा सत्ता राजनीतिका केन्द्रमा पुनः स्थापित भए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचन देउवाका लागि सबैभन्दा कठिन प्रतिस्पर्धामध्ये एक रह्यो । माओवादीका खगराज भट्टसँगको प्रतिस्पर्धामा उनले मात्र १ हजार ३ सय ६८ मतान्तर कायम गर्न सके । यही निर्वाचनमा उनी कञ्चनपुर–४ बाट पनि विजयी भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुराबाट ५०.५३ प्रतिशत मतसहित पुनः निर्वाचित भए भने कैलाली–६ बाट पनि जित हात पारे । २०७४ सालमा वाम गठबन्धनको बलियो लहर हुँदासमेत देउवालाई डडेलधुरामा कसैले हराउन सकेन । २८ हजार ४४ मतसहित निर्वाचित हुँदा माओवादीका खगराज भट्ट तेस्रो पटक उनीसँग पराजित भए ।
जेठ २०७४ मा चौथो पटक प्रधानमन्त्री बनेका देउवा असार २०७८ मा पुनः प्रधानमन्त्री बनेर पाँच पटक प्रधानमन्त्री हुने दुर्लभ रेकर्ड कायम गर्न सफल भए । २०७९ को निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई झन्डै दोब्बर मतान्तरले पराजित गरे । ढकालले १३ हजार ४२ मत पाउँदा देउवाले २५ हजार ५३४ मत ल्याएका थिए ।
पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र, सशस्त्र द्वन्द्व, राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको अभ्याससम्मका सबै ऐतिहासिक मोडमा देउवा अग्रपंक्तिमै रहे । तर जेन–जी आन्दोलनपछि उठेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागले उनलाई राजनीतिक रूपमा किनारातिर धकेलेको छ । आज उनी सत्ता र संसद् दुवैबाट बाहिरिएका छन् ।
देउवाको संसदीय यात्रामा बिराम लाग्दा सुदूरपश्चिमका कांग्रेस नेता तथा कार्यकर्तामा गहिरो निराशा देखिएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री मेघराज खड्काका अनुसार देउवाको अनुपस्थितिले प्रदेशको राजनीतिक पहुँच र प्रभावमा तत्काल शून्यता सिर्जना भएको छ । ‘शेरबहादुर देउवाको स्थान भरिने अर्को नेता सुदूरपश्चिममा तत्काल देखिँदैन,’ खड्काले भने ।
डडेलधुराबाट लगातार जित्दै सिंहदरबारसम्म पुगेका देउवाको संसदीय यात्राको अन्त्य केवल एउटा व्यक्तिको राजनीतिक अवसान होइन, त्यो सुदूरपश्चिमको एक पुस्ताको राजनीतिक आत्मविश्वास र पहुँचमा लागेको अल्पविराम पनि हो । सत्ता, संघर्ष र सम्झौताले भरिएको उनको संसदीय कथा अब इतिहासको पानामा सीमित हुँदैछ ।