वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रसारण संस्था बीबीसीबीिच फेरि एकपटक गम्भीर तनाव उत्पन्न भएको छ।
बीबीसीको ‘पानोरामा’ टीमले निर्माण गरेको डकुमेन्ट्रीमा ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई तोडमोड गरिएको आरोप सार्वजनिक भएपछि आइतबार बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन्। डकुमेन्ट्रीमा भाषणका केही अंशलाई वास्तविक सन्दर्भबाट अलग्याएर जोडिएको भन्ने आरोप लागेको थियो। बेलायती पत्रिका टेलिग्राफले अडियो–भिडियो मिसम्याचबारे खबर छापेपछि विवाद सतहमा आएको हो। त्यसपछि ट्रम्पले बीबीसीलाई कम्तीमा १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने कानुनी चेतावनी पठाएका छन्।
बीबीसीका शीर्ष व्यक्तिले गल्ती स्वीकारेर पदत्याग गरे पनि ट्रम्पको आक्रामकता कम भएको छैन। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा बीबीसीका पत्रकारलाई ‘भ्रष्ट’ र ‘बेइमान’ भन्दै तीव्र आलोचना गरेका छन्। ट्रम्पका अनुसार डकुमेन्ट्रीमा आफूले क्यापिटलतिर जाने कुरा गरेको भाषणको बीचमा अन्त्यतिरको अंश राखेर आफूलाई हिंसा भड्काउने व्यक्तिका रूपमा प्रस्तुत गर्न खोजिएको छ। बीबीसीले सार्वजनिक माफी नमागेको र तथ्य गलतप्रकारले सम्पादन गरिएको भन्दै उनले कानुनी कारबाहीबाट पछि नहट्ने अडान राखेका छन्।
ट्रम्पको मिडियाविरुद्धको व्यवहार यसअघि पनि विवादित रहँदै आएको छ। पत्रकार सम्मेलनहरूमा रिपोर्टरलाई प्रश्न गर्न नदिने, तुच्छ शब्दहरूले अपमान गर्ने, तथ्यगत रिपोर्टलाई ‘फेक न्युज’ भनेर बदनाम गर्ने उनका पुराना बानीहरू फेरि उजागर भएका छन्। उनले विगतमा पनि थुप्रै अमेरिकी मिडिया संस्थामाथि ठूलो क्षतिपूर्ति दाबी गर्दै मानहानीका मुद्दा दायर गरेका थिए।
न्यूयोर्क टाइम्सका दुई पत्रकारबाट प्रकाशित पुस्तकमा आफ्नो प्रतिष्ठा नोक्सान भएको भन्दै १५ बिलियन डलर मागेर दायर गरेको मुद्दा, वाल स्ट्रिट जर्नलले एपस्टाइनसँगको सम्बन्धबारे लेखेको खबरपछि गरेको १० बिलियन डलर दाबी, सिबिएसले कमला ह्यारिससँगको अन्तर्वार्तामा गरिएको सम्पादनबारे दायर गरेको १० बिलियन डलरको मुद्दा लगायत अधिकांश कानुनी विवादहरू ट्रम्पको यिनै शैलीका उदाहरण मानिन्छन्। केही अदालतले खारेज गरिसकेका छन् भने केही अहिले पनि विचाराधीन रहेका छन्।
ट्रम्पले २०१८ मा पत्रकार लेस्ली स्टाहलसँगको वार्तामा नै आफू मिडियालाई बदनाम गर्नुका मुख्य कारण बताउँदै ‘जब उनीहरूले मेरो बारेमा नकारात्मक समाचार लेख्छन्, कसैले पनि विश्वास नगरोस् भनेर म यसरी गर्छु’ भनी खुलेर स्वीकार गरेका थिए। यही सोचसहित उनले विगत चार दशकमा सिएनएनदेखि एबीसी र शिकागो ट्रिब्यूनसम्म विभिन्न मिडियामाथि मुद्दा दायर गरेका छन्। १९८४ मा शिकागो ट्रिब्यूनका स्तम्भकार पल ग्यापले ट्रम्पको १५० तल्ले भवन निर्माण योजना ‘अव्यवहारिक’ भनेको लेखपछि ट्रम्पले ५०० मिलियन डलरको क्षतिपूर्ति माग गर्दै दायर गरेको मानहानी मुद्दा अदालतले स्वतन्त्र अभिव्यक्तिको अधिकार अन्तर्गत खारेज गरिदिएको थियो।
बीबीसीको पछिल्लो गल्तीले ट्रम्पलाई आफ्नो दीर्घकालीन मिडिया–विरोधी अभियानलाई थप मजबुत पार्ने अवसर दिएको देखिन्छ। बीबीसीभित्र जिम्मेवार पक्षले पदत्याग गरेपछि पनि ट्रम्पले आक्रामक कानुनी बाटो छाड्ने संकेत नदिएको र पत्रकारितामाथि उनको द्वेषपूर्ण व्यवहार झन् तीव्र रूपमा फर्किएको विश्लेषकहरूको टिप्पणी छ। अमेरिकी चुनावी वातावरण फेरि तातेका बेला बीबीसीसँगको विवादले ट्रम्प–मिडिया द्वन्द्वलाई नयाँ उचाइमा पुर्याएको छ।
–एजेन्सी