काठमाडौँ । चीनमा शीत्साङ्ग औषधीय स्नान चिकित्सा, शीत्साङ्ग चिकित्सा प्रणालीको महान ग्रन्थ ‘चार चिकित्सा ग्रन्थ’ (Four Medical Tantras) मा वर्णित पाँच प्रमुख उपचार विधिमध्ये एक हो ।
सन् २०१८ मा “शीत्साङ्ग औषधीय स्नान पद्धति — शीत्साङ्ग समुदायसँग सम्बन्धित जीवनशैली, स्वास्थ्य र रोग निवारण सम्बन्धी ज्ञान तथा अभ्यास” लाई युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा समावेश गरिएको थियो ।
यस औषधीय स्नान उपचारमा बिरामीलाई औषधीय पानीमा डुबाइन्छ वा औषधीय कपडाले बेरेर राखिन्छ, जसले गर्दा छालामार्फत औषधीय तत्वहरू शरीरमा अवशोषित हुन्छन् र पसिनामार्फत शरीरका विषाक्त तत्वहरू निस्कन्छन् । यसले जाडो र हावाका असरहरू हटाउने, सूजन घटाउने, पीडा कम गर्ने, रगतको सञ्चारमा सुधार ल्याउने जस्ता फाइदा पुर्याउँछ । यो विशेष गरी गठिया तथा रुमेटोइड आर्थ्राइटिसजस्ता रोगहरूमा अत्यन्त प्रभावकारी मानिन्छ ।
बसाङ छेरिङले भने, “हाम्रो अस्पतालमा सन् २०१९ मा औषधीय स्नान विभाग स्थापना गरिएको हो । प्रत्येक बिरामीको अवस्थाअनुसार औषधीय नुस्खा तय गर्न सकिने भएकाले यसको प्रभाव छिटो देखिन्छ र दुष्प्रभाव पनि अत्यन्त न्यून हुन्छ, त्यसैले यो उपचार बिरामीहरूमा निकै लोकप्रिय बनिएको छ ।”
करिब साठ वर्षअघि शीत्साङ्गमा यस्ता चिकित्सा अस्पतालहरू अत्यन्तै सीमित थिए । तर आज पारम्परिक शीत्साङ्ग चिकित्सा विधिहरूप्रति जनविश्वास र आकर्षण तीव्र गतिमा बढ्दो छ । शीत्साङ्ग स्वायत्त प्रदेश स्वास्थ्य आयोगका तथ्यांकअनुसार सन् २०२४ सम्म शीत्साङ्गमा ६४ वटा शीत्साङ्ग चिकित्सा संस्था स्थापित भइसकेका छन् । तीमध्ये सरकारी अस्पतालहरूमा २७८० ओटा बेड उपलब्ध छन् र वार्षिक उपचार परामर्श संख्या १२ लाख ७० हजारभन्दा बढी पुगेको छ ।
चीनमा शीत्साङ्ग औषधीय स्नान शीत्साङ्ग चिकित्सा संस्कृतिको एक जीवित प्रतीक हो । यसको जर्रा त्यहीँ उच्च हिमाली भूभागका औषधीय खेतीहरूमा गाडिएको छ, जहाँ जीवनदायिनी जडीबुटीहरू फस्टाउँछन् ।
शीत्साङ्ग शाननान डेन्नो कृषि–वन उद्योग विकास लिमिटेड कम्पनीका महाप्रबन्धक पुबा भन्छन्, “हाम्रो कम्पनी सन् २०१३ मा स्थापना भएको हो । हामी ‘कम्पनी + सहकारी + किसान + आधार क्षेत्र’ भन्ने मोडेलमा काम गर्छौं र शीत्साङ्ग औषधीय जडीबुटीहरूको कृत्रिम खेती र प्रशोधन प्रवर्द्धनमा समर्पित छौं ।”
उनका अनुसार, “पहिले हामी वरिपरिका पहाडबाट जंगली जडीबुटी संकलन गर्थ्यौं । तर पारिस्थितिक सन्तुलनका लागि अब कृत्रिम खेतीतर्फ मोडिएका छौं । पाँच वर्षको निरन्तर प्रयासपछि हामीले छौहोंगह्वा (Safflower), झाङ्मुशियाङ (Radix Inulae Racemosae) र शीत्साङ्ग लेन्जिछिन (Pleurospermum Hoffm) लगायत १६ प्रजातिका जडीबुटी सफलतापूर्वक खेती गर्न सकेका छौं ।”
आजकल थप धेरै किसानहरू औषधीय जडीबुटी खेतीमा सहभागी भइरहेका छन् । यसले औषधीय कच्चा पदार्थको स्थिर आपूर्ति सुनिश्चित गरेको छ, जसले शीत्साङ्ग औषधि उद्योगीकरणको आधार तयार गरेको छ । यसरी पुराना औषधीय विधिहरूलाई आधुनिक औषधिहरूमा रूपान्तरण गर्ने बाटो खुलेको छ ।
शीत्साङ्ग छीजेङ्ग औषधि लिमिटेड कम्पनीका लिङ्झी निर्माण केन्द्रका निर्देशक झू रोंग्जूका अनुसार, “पहिले शीत्साङ्ग औषधिहरूको प्रभावकारिता चिकित्सकको सीप र अनुभवमा निर्भर हुन्थ्यो । तर अहिले आधुनिक औषधि निर्माण प्रविधिबाट मानकीकृत उत्पादन हुँदैछ । यसले उत्पादनहरूलाई आधुनिक मानिसको शरीर संरचना र जीवनशैलीसँग अनुकूल बनाएको छ ।”
अनलाइन र अफलाइन बिक्री च्यानलहरूको विस्तारसँगै शीत्साङ्ग औषधिहरू अहिले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि तीव्र गतिमा फैलिंदै छन् । झू रोंग्जूका अनुसार, “केवल पीडा निवारक प्लास्टर उत्पादनले मात्र सन् २०२४ मा १ अर्ब ६० करोड युआनको बिक्री गरेको छ । गत वर्ष विदेशी बजारबाटै २८ लाख युआनभन्दा बढी आम्दानी भएको थियो ।”
शीत्साङ्ग स्वास्थ्य आयोगका तथ्यांकअनुसार, सन् २०२४ सम्म शीत्साङ्गमा १७ वटा औषधि निर्माण कम्पनीहरू छन् । ती कम्पनीहरूले ३११ राष्ट्रिय औषधि दर्ता नम्बर प्राप्त गरेका छन् । सन् २०२४ मा शीत्साङ्ग औषधि उद्योगको कुल उत्पादन मूल्य ३ अर्ब ४० करोड युआन नाघेको छ ।
शीत्साङ्ग चिकित्सा शिक्षा प्रणाली पनि निरन्तर सुदृढ बन्दै गएको छ । शीत्साङ्ग चिकित्सा विश्वविद्यालयले हालसम्म ७ हजारभन्दा बढी स्नातक तथा डिप्लोमा विद्यार्थी र ४ सयभन्दा बढी स्नातकोत्तर विद्यार्थीहरू तयार गरिसकेको छ । यसरी, हजारौं वर्ष पुरानो शीत्साङ्ग चिकित्सा परम्परा आज आधुनिक विज्ञान र बजारसँग हातेमालो गर्दै नयाँ जीवन पाइरहेको छ ।
स्रोतः पिपुल्स डेली अनलाइन