काठमाण्डौं । २०७२ सालमा नाकाबन्दीको फाईदा उठाउँदै हरेक नागरिकको चुलो चुलोमा चाहिने खाने तेलमा कालोबजारी गरी बजार मूल्यभन्दा तेब्बर बृद्धि गरी बिक्री गरेको अभियोगमा दुगड ग्रुपका केएल दुगड र उच्च अधिकारीसहित १० जनाविरुद्ध ठगी तथा कालोबजारीमा मुद्दा दायर गरेका कारण बानेश्वर बृत्तका तत्कालिन डिएसपी दान बहादुर कार्की ठूलो पेलानमा परेका थिए ।
१२० रुपैयाँ पर्ने खाने तोरीको तेललाई नाकाबन्दीको मौका छोप्दै ३४० रुपैयाँ सम्म मूल्य बृद्धि गरी बिक्री गरेको पाईएपछि डिएसपी दान बहादुर कार्कीले दुगड ग्रुपको कोटेश्वर स्थित गोदाममा छापा मारी दुगड बिरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाएका थिए ।
शक्तिशाली मानिने दुगड ग्रुपमाथि कुनै किसिमको कार्बाही नगर्न भन्दै डिएसपी कार्कीलाई चौतर्फी दबाब, प्रभाव र धाकधम्की आएको भएतापनि कर्तव्यलाई सर्बोपरी मानी कुनै कुराको प्रवाह नगरी झण्डै १४ करोड रुपैयाँ बराबरको विगो र १० वर्ष कैद सजायको मागदावी सहित कालोबजारी र ठगी मुद्धा दर्ता गरेका थिए ।
गरिब जनताको चुलोमा अत्यावश्यक खाने तेलको मूल्यबृद्धि गरी अकुत सम्पत्ति आर्जन गर्ने गिरोहलाई कार्बाहीको दायरामा ल्याउँदा संगठनबाट पुरस्कृत हुनुपर्नेमा डिएसपी कार्की उल्टै चौतर्फी घेराबन्दीमा परी कोपभाजन र अन्याय भोग्न बाध्य भएका थिए ।
तीन साता लामो अनुसन्धानबाट तथ्य र प्रमाण संकलनपछि दुगड समूहका १० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा संगठन भित्रैका उच्च पदस्थ अधिकारीबाटै डिएसपी कार्कीलाई अनेक किसिमका दवाव, प्रभाव र गाली समेतले केही काम नगरेपछि उनलाई तत्कालै सरुवा गरी मधेस आन्दोलन चर्किरहेको सप्तरी जिल्लामा पुर्याईएको थियो ।
त्यतिमात्रले शान्त नभई उनलाई डिएसपीबाट एसपी बढुवामा जबर्जस्त पछाडि पारिएको थियो । २०७२ सालमा संबिधान निर्माण र नाकाबन्दी पश्चात काठमाण्डौको वानेश्वरको संबिधानसभा भवनक्षेत्र केन्द्रित ४०० भन्दा बढी बिभिन्न माग सहितका प्रदर्शन एवं जुलुसमा आफू घाईते भएर पनि नागरिकहरूलाई कुनैपनि किसिमको मानवीय क्षति हुन नदिई उत्कृष्ट काम गरेका डिएसपी दान बहादुर कार्की दुगड ग्रुपलाई मुद्धा चलाएपश्चात चौतर्फी घेराबन्दीको शिकार हुन पुगेका थिए ।
उनको करियरमै असर पुर्याउने उदेश्यले चुनौतीपूर्ण काम बापतको नम्बर घटाई डिएसपीमा एक नम्बरमा रहेका उनलाई SP बढुवामा पछि पारेर अन्याय गरिएको थियो । तर, इमान्दारिता, ब्यवसायिकता र कार्यसम्पादनमा निरन्तर उत्कृष्टता कायम गर्दै त्यसपछिका एसएसपी डिआईजी र एआईजी बढुवामा आफ्नो ब्याचबाट पहिलो बरियता कायम गर्दै उनी बिरूद्ध कुनै अन्याय नभए यही कार्तिकको तेश्रो हप्ता नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक हुने कुरा निश्चित जस्तै देखिन्छ ।