वासिङटन, डी.सी.। अमेरिकाले एच–१बी (H-1B) वर्क भिसामा ऐतिहासिक शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । हालै सार्वजनिक गरिएको नीतिअनुसार अब अमेरिकी कम्पनीहरूले हरेक वर्ष विदेशी कामदारका लागि एच–१बी भिसा स्पोन्सर गर्दा एक लाख अमेरिकी डलर (करीब १ करोड ३३ लाख रुपैयाँ) तिर्नुपर्नेछ ।
यसअघि भिसा रजिस्ट्रेशन शुल्क २१५ डलर मात्र रहेको थियो भने अन्य प्रक्रियागत शुल्क पनि केही सयदेखि हजार डलरसम्म सीमित थियो । नयाँ व्यवस्था लागू भएपछि सबैभन्दा बढी भारतीय नागरिक प्रभावित हुनेछन् ।
अमेरिकी प्रशासनले यो कदमलाई “स्थानीय रोजगारीलाई प्राथमिकता दिने” रणनीति भनेर व्याख्या गरेको छ । सरकारले भनेको छ कि उच्च शुल्कले विदेशी कामदारमा अत्यधिक निर्भरता कम गर्ने र अमेरिकी कामदारका लागि अवसर बढाउनेछ ।
भारतीय नागरिक आवागमन रोक्न अमेरिकाले यो नीति ल्याएको आप्रवासी जानकारहरु बताउँछन् ।
नयाँ शुल्क कहिलेदेखि लागू हुन्छ भन्नेबारे अझै स्पष्ट निर्देशिका आउन बाँकी छ । तर, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यो व्यवस्था निकट भविष्यमै लागू गरिने तयारीमा छ ।
अमेरिकाको एच–१बी (H-1B) वर्क भिसामा परम्परागत रूपमा भारत कामदारहरूले सबैभन्दा बढी लाभ उठाउँदै आएका छन् । अमेरिकी इमिग्रेशन सेवाहरू (USCIS) का तथ्यांकअनुसार, पछिल्ला वर्षहरूमा जारी भएका एच–१बी भिसामध्ये झण्डै दुईतिहाइभन्दा बढी हिस्सा भारतीय कामदारले लिएका छन् ।
सन् २०२१ (FY 2021) मा भारतले करिब ३ लाख १ हजार ६१६ एच–१बी भिसा प्राप्त गरेको थियो, जसको हिस्सा कुल स्वीकृतिको करिब ७४.१ प्रतिशत थियो । सोही वर्ष चीनले करिब ५० हजार ३२८ भिसा पाएको थियो, जुन कुलमा करिब १२.४ प्रतिशत बराबर पर्छ ।
त्यसैगरी सन् २०२२ (FY 2022) मा भारतले झण्डै ३ लाख २० हजार ७९१ भिसा पाएको थियो, जसको हिस्सा करिब ७२.६ प्रतिशत थियो । चीनले सो वर्ष करिब ५५ हजार ३८ भिसा पाएको थियो, जुन कुलको १२.५ प्रतिशत थियो ।
नवीनतम तथ्यांकअनुसार सन् २०२३ (FY 2023) मा पनि भारत जन्मिएका व्यक्तिहरूले कुल एच–१बी स्वीकृतिको करिब ७३ प्रतिशत हिस्सा पाएका छन् भने चीनको हिस्सा झण्डै १२ प्रतिशत रहेको छ ।
फिलिपिन्स, दक्षिण कोरिया, क्यानडा, युनाइटेड किङ्डम लगायत अन्य मुलुकका नागरिकले पनि केही संख्यामा यो भिसा लिएका भए पनि तिनीहरूको अनुपात भारतको तुलनामा निकै कम छ ।
एच–१बी भिसामा अमेरिकाले हालै शुल्क एक लाख डलर पुर्याउने निर्णय गरेपछि यसका सबैभन्दा ठूलो असर भारतीय कामदारहरू तथा तिनीहरूलाई रोजगारी दिने अमेरिकी प्रविधि कम्पनीहरूमा पर्नेछ ।
केही समयअघि ह्वाइट हाउसका सल्लाहकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धर्मलाई व्यापारमा जोड्न खोजिरहेको भन्दै ट्यारिफमा पुनर्विचार गर्न नसकिने बताएका थिए ।
अमेरिकाले भारतीय सामान आयातमा विश्वमै सबैभन्दा धेरै कर (ट्यारिफ) लगाएको छ ।
भारतीयलाई भिसा नदिने
भारतस्थित अमेरिकी दूतावासले केही भारतीय कम्पनीका कार्यकारीको भिसा रद्द गरेको छ। अमेरिकाले उनीहरूलाई नयाँ भिसा दिन अस्वीकार गरेको छ।
दूतावासका अनुसार उनीहरूमाथि फेन्टानिल प्रिकर्सर (सिंथेटिक ओपियोइड फेन्टानिल बनाइने रसायन) तस्करी गरेको आरोप छ।
फेन्टानिल एक लागूऔषध हो। फेन्टानिलको ओभरडोज संयुक्त राज्य अमेरिकामा मृत्युको प्रमुख कारण मध्ये एक हो।
ʻयी व्यक्ति र परिवारका सदस्य संयुक्त राज्य अमेरिका यात्रा गर्न अयोग्य हुन सक्छन्,ʼ दूतावासले विज्ञप्तिमा भनेको छ।
दूतावासले त्यस्ता कम्पनीसँग सम्बन्धित पाइएका व्यवसायी र फेन्टानिल पूर्वसूचकको तस्करीको आरोप लागेकाको भिसा आवेदन कडा छानबिनको विषय हुने बताएको छ।
दूतावासले प्रभावित व्यक्तिको नाम सार्वजनिक नगरे पनि उनीहरू सबै भारतीय नागरिक भएको पुष्टि गरेको छ।
–एजेन्सी