काठमाडौँ । जेन–जीको आन्दोलनपछि परिवर्तन भएको सरकारलाई बदनाम गर्न पुराना राजनीतिक शक्तिहरु यतिबेला अफवाहको खेती गरिरहेका छन् ।
गलत र भ्रामक सूचनाबाट सचेत हुन गृह मन्त्रालयले आग्रह समेत गरेको छ । पछिल्लो पटक सरकारबाट बाहिरिएपछि एमालेका नेता तथा कार्यकर्ता सबैभन्दा बढी भ्रामक खबरहरु सामाजिक सञ्जालमा फैलाइरहेका छन् ।
एमाले नेता महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहको महोत्तरीमा भएको घर तोडफोड भएको सामाजिक सञ्जालमा प्रचार गरेका थिए । तर, उक्त घर बालेनको नभई एकजना सर्वसाधारण नागरिकको भएको प्रहरीले पुष्टी गरेको छ । एमाले नेता कार्यकर्ताले दिनदिनै धम्कीपूर्ण स्टाटस लेख्ने र त्यस्तै अभिव्यक्ति दिएको बारेमा पनि प्रहरीले निगरानी राखेको स्रोतले जनाएको छ ।
त्यसैगरी, एमाले निकटकै केही मिडियाले प्रधानमन्त्री सुशीला कार्कीले चुच्चे नक्सा गायब पारेको भ्रामक खबर सम्प्रेषण गरेको पाइएको छ । जहाँकी हालको प्रधानमन्त्री कार्यालय नयाँ भवनमा रहेको र त्यहाँ कुनै प्रकारको सजावट नगरिएकोले हतारहतारमा सर्नुपर्दा नक्सा नराख्ने कुनै मनसाय नरहेको मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन् ।
अर्कोतिर, सरकारका बारेमा भूराजनीतिक विवाद सृजना गर्न पनि पुराना राजनीतिक शक्तिहरुले भ्रामक सूचनाहरु सामाजिक सञ्जालमा फैलाइरहेका छन् । सुशीला कार्कीलाई विश्वका सबै मुलुकहरुले बधाई दिइरहेका बेला सत्ताबाट बाहिरिएका दलहरु यतिबेला रन्थनिएका छन् ।
कुनैबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न अनुनयविनय गर्न त्यतिबेलाकै परराष्ट्रमन्त्री आरजु राणालाई १५ दिनसम्म दिल्लीको साउथ ब्लकमा कुर्न लगाएका थिए । तर, यही साउनमा भारतले ओलीलाई भ्रमणमा बोलाएको थियो भदौको अन्तिम साताको मिति तोकेर त्यो पनि बोधगयामा । निकै खुसी थिए एमाले र ओली ।
निवर्तमान प्रधानमन्त्री ओली खुशीले गद्गद् भएर मित्रराष्ट्र भारतका प्रधानमन्त्री मेरा मित्र नरेन्द्र मोदी भन्दै विभिन्न सन्दर्भमा सामाजिक सञ्जालमा पोष्ट गर्थे । ओलीको चुच्चे नक्सा बाहेक अन्य सवालमा भारतभक्त भए, न चीनसँग न अन्य तेस्रो मुलुकसँग उनले राम्रो सम्बन्ध राख्न सफल भए ।
झन पछिल्लो पटक सामाजिक सञ्जाल बन्द गरिदिएपछि त ओलीसँग तेस्रो मुलुकहरु लगायत अमेरिका चिढिएको थियो । तर, अहिले सुशीला कार्की प्रधानमन्त्री भएपछि यी सबै मुलुक बाहेक चीनले सम्बन्धको नयाँ उत्साह देखाएर कोरालाबाट सहज रुपमा व्यापार गर्ने पहल सुरु गरिसकेको छ । चीनले कार्की सरकारलाई बधाई दिंदै सहकार्यमा जोड दिएको छ ।
अहिलेको विश्व भूराजनीतिमा आफ्नो राजनीति रोटी सेक्न एमाले लगायतका दलहरुले भ्रमको खेती गरेपनि सुशीला कार्कीको सरकारले अन्तराष्ट्रिय विश्वास जितिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यस्तै, भारतीय मिडियाहरुले नेपालमा फैलाएका भ्रमका खबरहरु टिपेर पुरानो सत्ताका कार्यकर्ताहरु र समर्थकले सरकारको बदनाम गर्न खोजिरहेका छन् । पुराना दलहरुको अतित केलाएर हेर्दा उनीहरु भारतपरस्त भएको एउटा मात्र उदाहरण हो– सजिलै नागरिकता बाँड्न पारित भएको नागरिकता विधेयक ।
अहिले तराई र मधेसका जिल्लाहरुमा धमाधम नेपाली नागरिकता लिने भारतीय सिमावर्ती क्षेत्रका व्यक्तिहरु लाखौं रहेको स्रोतले जनाएको छ । देशको राजधानी लगायतका महत्वपूर्ण सरकारी संरचना तोडफोड र आगजनी गर्नमा यिनीहरुको ठुलो भुमिका रहेको संलग्न विभिन्न प्रमाणहरुले पुष्टी गरेको सुरक्षा स्रोतले जनाएको छ ।
यस्तो असुरक्षा र देश भित्र शान्ति अमनचयन खलल पुर्याउन ठुला तिनदल नै मुख्य जिम्मेवार रहेको धेरैले दाबी गरेका छन् । अन्तरिम सरकारले विगतको सरकारले ल्याएको नागरिकता विधेयक खारेज गरेर नागरिकता वितरणमा कडाई गर्नुपर्ने र वितरण भइसकेका त्यस्ता नागरिकता जफथ गरेर अनुसन्धान थाल्नुपर्ने माग जेन–जीहरुको ठुलो तप्काले उठाएको छ ।
नेपाल भित्र भ्रम सृजना गर्न आएका केही भारतीय मिडियाहरुलाई जेन–जीले धपाएका थिए । ती भारतीय मिडियाले नेपाल–भारत भाई-भाई भन्दै इन्डियामा गलत सन्देश पठाएर नेपालको सार्वभौम पहिचानमा खलल पुर्याएको जानकारहरुले बताएका छन् । जेन–जी आन्दोलनमा घुसपैठ गरेर नेपालीबीच फाटो ल्याउने भारतीय योजना भने तुहिएपछि अहिले सरकारलाई बदनाम गराउन पश्चिमा शक्तितिर देखाउन थालिएको छ ।
यसैबीच, यस्ता गलत र भ्रामक खबरमा विश्वास नगर्न सरकारका अधिकारीहरुले सबैलाई अपिल समेत गरेका छन् ।
नयाँ सरकार गठन भएपछि एमाले कार्यकर्ताले अध्यक्ष केपी ओलीको विज्ञप्ति भन्दै जेन–जीको नाममा फेक सन्देशहरू फैलाएका थिए ।
त्यति मात्र होइन, असोज ३ गते एमाले अध्यक्ष ओली सार्वजनिक हुने र दशौँ हजारले स्वागत गर्ने भन्ने खबर पनि फेक भएको तथ्य सार्वजनिक भइसकेको छ । एमालेका कार्यकर्ताहरू यसरी लगातार भ्रम फैलाइरहेका कारण नेपाली जनता हैरान बनेका छन्।