काठमाडौँ । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन शनिबार पनि जारी छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल हुँदैछ ।
स्रोतका अनुसार हिजो खुलेर नबोलेकाहरू आज विद्या भण्डारीको पक्षमा खुल्ने सम्भावना बढेको छ । यतिबेला पदाधिकारीदेखि प्रतिनिधिसम्मको बहुसंख्यक भण्डारी पक्षमै देखिए पनि नेतृत्ववर्ग डरका कारण खुल्न नसकेको बताइन्छ । कतिपय प्रतिनिधिले उमेर हद कायम गरेर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने आवाजसमेत उठाएका छन् ।
यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत हुने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदन र सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन प्रस्तुत भएका थिए ।
प्रतिवेदनमाथि विस्तृत छलफलका लागि १० वटा समूह बनाइएको छ । कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधि, उपत्यका विशेष प्रदेश, जनसंगठन, सम्पर्क समिति, प्रवास र केन्द्रीय निकायका आधारमा छुट्टाछुट्टै समूहमा छलफल भइरहेको छ ।
छलफलमा आएका निष्कर्ष आइतबारको सत्रमा प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र अध्यक्ष ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै समापन गर्ने कार्यक्रम तय भएको छ ।
यता, आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गरेको ३२ पृष्ठ लामो फरक मत पनि प्रवेश पाउने सम्भावना छ । उक्त फरक मतमा थापाले पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी विषय समेत उठाएका छन् ।
देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजकतर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी महाधिवेशनमा सहभागी छन् ।