ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ ।
महाधिवेशनमा देशभरबाट आएका करिब २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी छन् । ३१५ जना आयोजक प्रतिनिधि र बाँकी २ हजार २६ जना निर्वाचन प्रक्रियाबाट चयन भएका हुन् । महाधिवेशन स्थल सातदोबाटोदेखि गोदावरीसम्म १८ वटा स्वागतद्वारले सजाइएको छ भने प्रवेशद्वारमै प्रधानमन्त्री ओलीको पूर्णकदको तस्बिर, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीसँगै कार्ल मार्क्स, एंगेल्स र लेनिनका झण्डै दर्जनभन्दा बढी शिल्प सजिएका छन् । हल बाहिर निरन्तर विभिन्न जातजाति र समुदायका झाँकीहरू प्रस्तुत भइरहेका छन्, जसलाई प्रतिनिधिहरुले हलभित्र डिजिटल बोर्डमार्फत अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।
उद्घाटन सत्र डिजिटल प्रविधिमार्फत गरिएको छ । प्रतिनिधिहरूको प्रवेशका लागि स्क्यान प्रणाली, डिजिटल ढोका र कम्प्युटर बुथ प्रयोगमा ल्याइएको छ । उद्घाटनपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले राजनीतिक प्रतिवेदन तथा निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
तर, महाधिवेशन सुरु हुनु अघि नै एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयले ठूलो विवाद ल्याएको छ । पार्टी सचिवालयको बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले भण्डारीलाई रोक लगाउन नहुने धारणा राखेका थिए । उनीहरूले भण्डारीको राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मान्यताविपरीत हुने तर्क प्रस्तुत गरेका थिए । तर, अध्यक्ष ओलीले भने यसअघि भएको निर्णयलाई उल्ट्याउन नसकिने अडान दोहोर्याएका छन् ।
बैठकमा इश्वर पोखरेलले लिखित असहमति पत्र वाचन गर्दै भण्डारीको सदस्यता रोक्ने निर्णय राजनीतिक पूर्वाग्रहको दृष्टान्तका रूपमा व्याख्या हुनसक्ने बताए । उनले यसले आगामी दिनमा पार्टीभित्र ‘अस्त्र’को रूपमा प्रयोग हुने चेतावनीसमेत दिए । त्यसपछि उपाध्यक्ष ज्ञवाली र पाण्डेले पनि लिखित असहमति पेस गर्दै ओलीको कदमले पार्टी विभाजनतिर धकेलिरहेको आरोप लगाए ।
यही बीच, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् । उनले पार्टीको विधान संशोधनका लागि ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान कायम गर्नुपर्ने, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निष्क्रिय नगर्नुपर्ने र पार्टी कमिटीहरू लोकतान्त्रिक तरिकाले चयन हुनुपर्ने जस्ता विषय राखेका छन् । थापाको फरक मतलाई सचिवालय बैठकले स्वीकार गरी विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
भण्डारीको सदस्यताबारे गहिरो ध्रुवीकरण भइरहेका बेला एमाले महाधिवेशन सुरु भएको छ । आइतबारसम्म चल्ने महाधिवेशनले विधान संशोधनसँगै नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली समृद्ध नेपाल हाम्रो गन्तव्य’ तय गरिएको छ ।
यसरी, पार्टीको आन्तरिक खटपट र भण्डारीलाई लिएर उत्पन्न विवादकै बीच सुरु भएको एमाले विधान महाधिवेशनले आगामी दिनमा पार्टीको मार्गनिर्देशन कस्तो हुने भन्ने निर्णायक संकेत गर्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।