काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा समस्या खडा गर्ने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, “दुई पटक उहाँलाई पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना गरेको थिएन।”
ओलीले भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेको र पार्टीभित्र सधैंका असन्तुष्ट, चुनाव हारेका मान्छेहरू भेला गरेको भन्दै असन्तुष्टि जनाए। उनले प्रश्न गरे, “मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर, असन्तुष्ट तत्त्वहरूलाई भेला गर्नुपर्छ?”
अध्यक्ष ओलीले भण्डारीले आफैं सदस्यता छोडेको स्पष्ट गर्दै भने, “पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो। छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ।”
ओलीले दर्ता चलानी शुल्क तिरे मात्र सदस्यता नवीकरण नहुने कुरा पनि स्मरण गराए। “कार्यालयमा आएर शुल्क तिरे, सदस्यता पाउँछन् भन्ने हुँदैन,” उनले भने।
पार्टीमा फर्किएपछि समस्या खडा हुने कल्पना नगरेको ओलीले बताए र पार्टीभित्र असन्तुष्टहरूको जमात खडा भएको उल्लेख गरे। “पार्टीका सधैंका असन्तुष्ट, चुनाव हारेका मान्छेहरू भेला गरेर असन्तुष्टको जमात खडा गर्दै हिँड्नु भएको छ,” उनले जोड दिए।
०७९ को आमनिर्वाचनमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे लगायत पराजित हुन पुगेका थिए । एमाले अध्यक्ष ओलीले यी लगायतका नेताहरुलाई घोचपेच गरेका हुन सक्ने अनुमान छ । स्मरणीय छ, ओलीको चरम निरंकुश शैली विरुद्ध औपचारिक रुपमै करीब ८० प्रतिशत बढी नेता कार्यकर्ता गोलबद्ध भइरहेका भण्डारी पक्षधरका नेताहरुले दाबी गर्दै आएका छन् ।