काठमाडौँ । एमालेमा आफ्नो योगदान र सक्रियताका कारण प्रभावशाली बनेका नेता–कार्यकर्ताहरू अक्सर पार्टीभित्र केपी शर्मा ओलीको अत्याचार प्रवृत्तिबाट पीडित हुने गरेका छन्।
भीम रावलको नाम यस सन्दर्भमा विशेष रूपमा आउँछ। पार्टीका पुराना कार्यकर्ताहरूका अनुसार, वर्षदिनअघि भीम रावललाई एमालेबाट अपमानबोध तरिकाले निकालिएको थियो। यसअघि नै माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमजस्ता नेताहरू पनि असहज भएर पार्टी छोड्न बाध्य भएका थिए र नयाँ दल गठन गरेका थिए।
ओलीको शैली प्रायः स्पष्ट छ, जो कोहीले ठूलो भूमिका खेल्न थाल्छ, उनलाई भित्तामा पुर्याएर दबाउने। यस प्रवृत्तिबाट धेरै कार्यकर्ताहरू आजित भई पार्टी छोड्दै आएका छन् भने केही भित्रै विद्रोह गरिरहेका छन्। यसले एमालेभित्र असन्तोष र तिक्तता बढाएको छ।
विद्या भण्डारीको पुनरागमनले यही असन्तोषपूर्ण परिस्थितिमा नयाँ आशा जगाएको छ। उनको सक्रियता, संगठनसहितको मैदानमा प्रवेश र पार्टीभित्र लोकतान्त्रिक अभ्यासको आवश्यकता उठाउँदै नेतृत्व चुनौती दिने शैलीले ओलीको एकछत्रवादी प्रवृत्तिमा रोशनी फ्याँकेको छ। पार्टीभित्र धेरै कार्यकर्ताले अब ओलीको निरंकुश प्रवृत्ति रोक्न र जबजको मार्गदर्शनलाई व्यापक बनाउन विद्या भण्डारीलाई नयाँ विकल्पका रूपमा देख्न थालेका छन्।
पुराना सहकर्मीहरू भन्छन्, ओलीको बानी सानैदेखि स्पष्ट छ, आफू भन्दा अरूलाई चर्चामा आउन नदिने। यही कारणले गर्दा पार्टीभित्र जो कोही प्रभावशाली हुन थाल्छ, उसलाई दबाउन ओलीले विभिन्न हत्कण्डा प्रयोग गर्ने गरेका छन्। तर, विद्या भण्डारीको संगठनसहितको सक्रियता, कार्यकर्तासँगको सिधा सम्बन्ध र पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया माग्ने शैलीले अहिले एमालेमा आशावादी वातावरण निर्माण गरेको छ।
यसरी हेर्दा, विद्या भण्डारीको पुनरागमन केवल व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, ओलीको निरंकुश प्रवृत्तिविरुद्धको सामूहिक चुनौती पनि हो। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पुनः सक्रिय बनाउने, संगठनलाई सुदृढ गर्ने र जबजको मूल्यलाई व्यापक बनाउने यो अभियान एमालेको भविष्यमा निर्णायक मोड हुन सक्छ।
एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्या भण्डारीले नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्दै औपचारिक रूपमा संगठनसहितको राजनीतिक सक्रियता थालिन् । ओली नेतृत्वमा भइरहेको हुकुमी शैलीप्रति असन्तोष जाहेर गर्दै उनले बहुदलीय जनवाद (जबज) कार्यान्वयनमा असफल भएको संकेत गरिन् र प्रतिस्पर्धा छोड्ने मनसाय नराख्ने उद्घोष गरिन् । यो कदमलाई एमाले वृत्तभित्र केवल एउटा सामान्य राजनीतिक गतिविधि मात्र नभई, संस्थागत रूपमा अध्यक्ष ओलीको निरंकुश प्रवृत्तिविरुद्धको खुला चुनौतीको रूपमा हेरिएको छ ।
६ साउनमा केन्द्रीय कमिटी बैठकमार्फत ओलीले भण्डारीको सदस्यता नै रोकेका थिए । तर, कसैले रोकिदियो भन्दैमा आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्रा र जबजप्रतिको प्रतिबद्धता रोकिन्न भन्ने सन्देश भण्डारीले दिएको छ । यसरी सम्पर्क कार्यालय स्थापनाबाट उनले ओलीसँगको प्रतिस्पर्धामा औपचारिक पाइला चालेकी छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतको उपस्थिति, काठमाडौं–बागमतीका नेताको समर्थन र पाँच सयभन्दा बढी कार्यकर्ताको सहभागिताले भण्डारीलाई एकल नेतृ होइन, समूहसहितको विकल्पका रूपमा प्रस्तुत गरेको छ ।
विद्या भण्डारीले आफ्नो राजनीतिक जीवन, राष्ट्रपतिको भूमिका, जबजको समीक्षा र एमालेभित्रको असमानता सबै विषयमा विस्तृत धारणा दिँदै ओलीलाई अप्रत्यक्ष प्रहार गरिन् । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाइएको, राज्यका अंगहरू पद्धतिसंगत ढंगले नचलाइएकाले संकट बढेको चेतावनी दिइन् । यसरी उनले केवल आफ्नो सदस्यताको बचाउ मात्र गरिनन्, बरु ओलीको असक्षम नेतृत्वलाई ‘असामयिक’ र ‘असार्थक’ ठहरिने आधार प्रस्तुत गरिन् ।
यो विवाद केवल एक नेताको पद वा सदस्यता विवाद मात्र होइन, एमालेलाई ओलीको एकछत्रवादी प्रवृत्तिबाट बचाउने संघर्ष पनि हो । ओलीले आलोचकलाई निलम्बन, बहिष्कार, पदच्युतजस्ता हत्कण्डाले दबाउने शैली अपनाउँदै आएका छन् । कुनै बेला माधव नेपाल, झलनाथ खनालदेखि भर्खरै विद्या भण्डारीसम्म, आलोचक जोसुकै भए पनि ओलीको पहिलो प्रतिक्रिया दमनकारी हुने गरेको छ । यसले एमालेलाई लोकतान्त्रिक पार्टीभन्दा बढी अध्यक्षको ‘हुकुमी साम्राज्य’मा रूपान्तरण गरेको छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, भण्डारीले संगठनसहितको चुनौती दिएसँगै ओलीलाई कतै न कतै “एड्रेस” गर्न बाध्य पार्ने अवस्था बन्न सक्छ । पार्टीभित्र असन्तुष्ट र पेलिएका समूहलाई उनले संरक्षण र प्लेटफर्म दिने संकेत दिएकी छिन् । अझ रोचक कुरा के भने, ओलीलाई नजिक मानिने ईश्वर पोखरेलले समेत प्रत्यक्ष कटाक्ष गर्दै “विचारकै टोपी लगाउनेहरूले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्” भन्ने कठोर टिप्पणी गरे । यो केवल विचारको बहस होइन, ओलीकै नेतृत्वप्रति खुला प्रश्न हो ।
भण्डारीले संसद्, संविधान, सुशासन, शिक्षा प्रणालीदेखि युवापलायनसम्मका विषयलाई उठाउँदै ठूला दलहरू, विशेषतः एमाले, आफ्नै मर्म र उद्देश्यअनुसार काम गर्न असफल भएको बताइन् । यस्तो सन्देशले ओलीको स्थायित्वमा मात्र प्रश्न उठाएको छैन, बरु नयाँ पुस्ता र पेलिएका नेताहरूलाई समेत भण्डारीतर्फ आकर्षित गर्ने वातावरण सिर्जना गरेको छ ।
यद्यपि, ओलीलाई अझै पार्टी र सरकार दुवैमा शक्ति केन्द्र हातमा छ । इतिहासले देखाएझैँ उनले अनेक हत्कण्डा र संस्थागत दबाब प्रयोग गरेर समूहलाई कमजोर बनाउन सक्ने सम्भावना उच्च छ । तर, विद्या भण्डारीले सुरुवात गरेको यो कदमलाई केवल व्यक्तिगत महत्वाकांक्षा नभई, निरंकुश प्रवृत्तिको विरुद्धमा खडा भएको सामूहिक प्रतिरोध मान्नेहरू बढ्दो क्रममा छन् ।
एमाले भित्रको यो रस्साकस्सी केवल नेतृत्व परिवर्तनको प्रश्न होइन, पार्टीले बहुदलीय जनवादको वास्तविक अभ्यास गर्ने कि व्यक्तिवादी सर्वशक्तिमान नेताको अधीनमा विलीन हुने भन्ने द्वन्द्व हो । इतिहासकै मोडमा एमाले फेरि उभिएको छ, जहाँ विद्या भण्डारीको चुनौती, ओलीको हुकुमी प्रवृत्तिविरुद्धको परीक्षणको अर्को अध्याय सुरुवात भएको छ ।