काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको ‘विशाल तेल भण्डार’ विकास गर्न अमेरिका र पाकिस्तानबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त सम्झौतामार्फत अमेरिका र पाकिस्तान मिलेर पाकिस्तानको ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने प्रतिबद्धता जाहेर गरेका छन्।
ट्रम्पले स्पष्ट शब्दमा भनेका छन्, “हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौं। कसलाई थाहा छ, सायद पाकिस्तानले कुनै दिन भारतलाई नै तेल बेच्नेछ!” – उनको यो टिप्पणीले भारतको राजनीतिक गल्ली तताएको छ। भारतको उच्च स्तरमा असहज प्रतिक्रिया आएको बताइँदैछ।
अमेरिका पाकिस्तानसँग अति नजिक भएपछि यतिबेला भारतीय राजनीतिक क्षेत्र, सरकार, बिजेपी र मोदीलाई ज्वरो आएको विश्लेषकहरुले बताइरहेका छन् । चीन लगायत यूरोपेली मूलकहरु त पहिल्यैदेखि पाकिस्तानसँग नजिक रहेका थिए ।
विगत केही वर्षदेखि पाकिस्तानमा तेल र ग्यास उत्पादनमा लगातार गिरावट आएको छ। पाकिस्तान पेट्रोलियम सूचना सेवाका अनुसार पछिल्लो समयमा तेल उत्पादन ११% ले घटिसकेको छ, र देशको ८५% भन्दा बढी पेट्रोलियम आवश्यकता आयातमार्फत पूर्ति हुँदै आएको छ।
तर ट्रम्पको घोषणासँगै पाकिस्तानमा एक नयाँ ऊर्जा युगको शुरुआतको संकेत देखिएको छ। अमेरिकी लगानी र प्रविधिको सहायताले पाकिस्तानले आफ्नो भौगोलिक स्रोतलाई पूर्ण रुपमा उपयोग गर्नसक्ने संभावना देखिएको हो।
पाकिस्तानका चारै प्रान्त – सिन्ध, पञ्जाब, खैबर पख्तुनख्वा र बलुचिस्तान – मा हाल अन्वेषण कार्य चलिरहेको छ। तर सुरक्षा चिन्ता, कर संरचना, र लगानी अभावका कारण तीव्रता ल्याउन चुनौती रहेकामा अमेरिकी साझेदारीले नयाँ गतिको अपेक्षा गरिएको छ।
अमेरिकासँगको यो सम्झौताले पाकिस्तानको अन्तर्राष्ट्रिय सम्बन्धमा थप सन्तुलन ल्याएको छ। जहाँ एकातिर पाकिस्तानको परम्परागत साझेदार चीनसँग ठूला ऊर्जा परियोजना (जस्तै CPEC) सञ्चालनमा छन्, अर्कातिर अमेरिकी सहयोगले आधुनिक प्रविधि र पूँजी प्रवाह सहज बनाउने आशा गरिएको छ।
ऊर्जा विज्ञ मोहम्मद वासी खान भन्छन्, “चिनियाँ लगानी अब एकल विकल्प छैन। अमेरिकी साझेदारीले स्वस्थ प्रतिस्पर्धा र विविधीकरणको अवसर ल्याउँछ। चीनका लागि यो चुनौती होइन, अवसर हो।
ट्रम्पको “भारतलाई तेल बेच्ने” टिप्पणीपछि भारतमा तीव्र प्रतिक्रिया आएको छ। भारतीय मिडियाले यसलाई ‘रणनीतिक अपमान’ भन्दै रिपोर्ट गरेका छन्। पाकिस्तानको तेल क्षेत्रमा अमेरिकी उपस्थितिले भारतलाई असहज बनाएको छ।
भारतका विश्लेषकहरू भन्छन् – पाकिस्तानसँग अमेरिकी सहकार्यको बढ्दो गहिराइले दक्षिण एशियाली ऊर्जा राजनीति पुनः लेख्न थाल्नेछ। भारतको नजर पाकिस्तानको तेल स्रोततर्फ रहे पनि अब अमेरिका त्यहाँ सिधै खेलाडीको रुपमा प्रवेश गरेकाले दिल्ली झस्किएको छ।
अमेरिकी सम्झौता केवल तेल निकाल्ने काम मात्र होइन – यो पाकिस्तानलाई ऊर्जा क्षेत्रमा भूराजनीतिक केन्द्र बनाउने दिशातर्फको संकेत पनि हो। ऊर्जा साझेदारीमार्फत पाकिस्तान अब चीनसँगको पारंपरिक सम्बन्धलाई कायम राख्दै अमेरिका र युरोपेली देशहरूसँग पनि अर्थतन्त्र जोड्न चाहन्छ।
विश्लेषक जाहिद हुसेन भन्छन्, “यो केवल अमेरिका–पाकिस्तानबीचको सम्झौता होइन, यो पाकिस्तानले अब एकल आश्रयको ठाउँबाट बाहिर निस्कन थालेको संकेत हो – जहाँ ऊ चीन, अमेरिका र युरोप सबैसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न खोज्दैछ।
पाकिस्तानको तेल क्षेत्रमा अमेरिकाको औपचारिक प्रवेशसँगै दक्षिण एशियाको ऊर्जा, राजनीति र कूटनीतिमा नयाँ मोड आएको छ। ट्रम्पको घोषणाले पाकिस्तानभित्रको सम्भावनालाई पुनः उजागर गर्नुका साथै भारतमा असन्तुलन सिर्जना गरिदिएको छ। अबको चुनौती भनेको – पाकिस्तानले अमेरिकी प्रविधि र लगानीलाई कसरी प्रयोग गर्छ? के भारत र चीनले यो ‘ऊर्जा समीकरण’लाई कसरी सम्हाल्छन्?
पाकिस्तानको निर्णय अब केवल आन्तरिक विकासको मात्र होइन, दक्षिण एशियाको शक्ति सन्तुलनको पनि विषय बन्ने संकेत देखिन थालेको छ।
–एजेन्सी