काठमाडौँ । विश्वकै सबैभन्दा चर्चित प्रविधि उद्यमीमध्ये एक इलन मस्क अहिले अनेकौं संकटको भुमरीमा फसेका छन् । एकातिर राजनीतिक, व्यावसायिक र व्यक्तिगत चुनौतीहरूसँग जुधिरहेका मस्क, अर्कोतिर आफ्नै कम्पनी एक्सएआईद्वारा विकास गरिएको च्याटबट ‘ग्रोक’को विवादास्पद प्रतिक्रियाले उनलाई थप आलोचनाको केन्द्रमा ल्याएको छ ।
ग्रोक नामक एआई च्याटबटले नाजी तानाशाह एडोल्फ हिटलरको प्रशंसा गर्दै दिएको जवाफपछि विश्वभरि नै व्यापक विरोध सुरु भएको छ । ग्रोकले हिटलरलाई “श्वेतविरोधी अपराधको ठेगान लगाउने उपयुक्त व्यक्ति” भनेर चित्रण गरेको थियो, जुन प्रतिक्रिया यहुदी समुदायसहित विश्वभरका मानव अधिकार समर्थकका लागि गम्भीर अपमानका रूपमा व्याख्या गरिएको छ ।
एक प्रयोगकर्ताले ग्रोकलाई सोधेको थियो — २०औं शताब्दीमा श्वेतविरोधी अपराधको प्रतिरोध गर्न को उपयुक्त व्यक्ति थिएरु ग्रोकले हिटलरलाई रोज्दै दिएको जवाफमा उसले जातीय नरसंहारको अपराधी हिटलरलाई ‘उपयुक्त’ ठहर्याएको थियो । यही जवाफ सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म ग्रोक र मस्कप्रति तीव्र आलोचना चर्किएको हो ।
ग्रोकले यति मात्रै होइन, यहुदी नाम भएका प्रयोगकर्ताहरूप्रति ‘चरम वामपन्थी’ वा ‘श्वेतविरोधी’ जस्ता पूर्वाग्रही टिप्पणी गरेको, आफैंलाई ‘मेका–हिटलर’ भनेर चित्रण गरेको र टर्कीका राष्ट्रपति रेसेप तय्यिप अर्दोगानविरुद्ध पनि अपमानजनक टिप्पणी गरेको रिपोर्टहरू आएका छन् ।
टर्कीले यस घटनालाई आफ्नो राष्ट्रियता र धार्मिक मान्यतामाथिको आक्रमण ठहर्याउँदै ग्रोकमाथि प्रतिबन्ध लगाइसकेको छ । पोल्यान्डका डिजिटल मामिलामन्त्री क्रिजिस्जोफ गाउकोवस्कीले त एक्स ९पूर्व ट्विटर० लाई जरिवाना गराउन युरोपेली आयोगसमक्ष उजुरी दिने घोषणा गरिसकेका छन् । बीबीसीसँग बोल्दै उनले भने, “अभिव्यक्ति स्वतन्त्रता मानिसका लागि हो, एआईका लागि होइन ।”
यिनै घटनाबीच एक्सएआईकी प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले राजीनामा दिएकी छन्, जसले मस्कका लागि परिस्थिति झन् पेचिलो बनाएको छ । मस्कले गत जुन २१ मा एक्स प्रयोगकर्तालाई ग्रोकको प्रशिक्षणका लागि ‘विवादास्पद तर तथ्यात्मक’ सामग्री पठाउन आग्रह गरेका थिए । विश्लेषकहरूको भनाइमा, यही प्रयोगले जातीय द्वेष र गलत सूचनाको बाढी निम्त्याएको हो ।
एक्सएआईले आफ्नो आधिकारिक खातामार्फत ग्रोकका आपत्तिजनक पोस्ट हटाइरहेको र घृणात्मक अभिव्यक्तिहरूमाथि कडाइ गर्ने उल्लेख गरेको छ । साथै, प्रयोगकर्ताको सहायतामा एआई सुधार गरिने बताइए पनि यस्तो घटना ‘कसरी’ भयो भन्ने प्रश्नले मस्ककै एआई दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ ।
विशेषज्ञहरूका अनुसार ग्रोकको प्रतिक्रिया एआई च्याटबटहरूमा हुने “हलुसिनेसन” अर्थात् भ्रामक वा तथ्यहीन जवाफको घातक उदाहरण हो । यसअघि पनि माइक्रोसफ्टको टे एआई, गुगल फोटोज, अमेजनको रिक्रूटिङ एआईजस्ता मोडलहरूले जातीय र लैङ्गिक पूर्वाग्रह झल्काउने प्रतिक्रिया दिएका थिए । तर, ग्रोकको घटना यसकारण गम्भीर छ कि यसले नाजी विचारधारालाई नै उचित ठहर्याउने प्रयास गरेको देखिन्छ ।
विश्लेषकहरू चेतावनी दिन्छन् — “यदि एआईलाई स्पष्ट नीति र सुरक्षित मापदण्ड बिना चल्न दिइयो भने, त्यसले समाजमा विभाजन, हिंसा र चरम विचारधारालाई मलजल गर्न सक्छ ।”
‘ग्रोक’को विवादले एआई विकासमा ‘उदारीकरण’ बनाम ‘उत्तरदायित्व’को बहस पुनः तीव्र बनाएको छ । जब एआई च्याटबटहरू सर्च इन्जिन वा सूचना स्रोतको रूपमा प्रयोगमा आउँछन्, तब त्यसमा आउने गलत र घातक विचारहरूले समाजमा व्यापक असर पार्न सक्छन् । मस्कको महत्त्वाकांक्षी एआई परियोजना अहिले नैतिकता, उत्तरदायित्व र सार्वजनिक सुरक्षाका गम्भीर प्रश्नहरूमा घेरिएको छ ।
यस घटनाले एउटा कुरा प्रस्ट पारेको छ — प्रविधिको शक्ति जति विशाल हुन्छ, त्यसलाई नियन्त्रण गर्ने विवेक र संयमता अझ बलियो हुनुपर्छ ।
–एजेन्सी