काठमाडौँ । चीनको शानदोङ प्रान्तको छिङताओ सहरमा सम्पन्न भएको बहुराष्ट्रिय कम्पनीहरूको छैटौं शिखर सम्मेलनले चीनप्रति विदेशी लगानीकर्ताको विश्वास अझै मजबुत भएको संकेत दिएको छ। सम्मेलनमा ६ महादेशका ४६५ बहुराष्ट्रिय कम्पनीका ५७० प्रतिनिधिहरूले सहभागिता जनाए।
सम्मेलनका क्रममा ५ अर्ब ९३ करोड अमेरिकी डलर बराबरका ४० प्रमुख परियोजनामा हस्ताक्षर गरिएको जनाइएको छ। “बहुराष्ट्रिय कम्पनीहरू र चीन : विश्वलाई जोड्दै, साझेदारीमा जिततर्फ” भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले चीनको विश्वव्यापी आर्थिक रणनीतिमा रहेको महत्त्व झन प्रष्ट बनाएको छ।
शिखर सम्मेलनमा प्रस्तुत प्रतिवेदनअनुसार सन् २०१३ देखि २०२३ सम्म चीनमा दुई करोड युआनभन्दा बढी आम्दानी गर्ने विदेशी औद्योगिक उद्यमहरूको अनुसन्धान तथा विकास खर्चमा ८६.५ प्रतिशतको वृद्धि भएको छ। सन् २०२४ को जनवरीसम्म मात्रै बेइजिङमा विदेशी लगानीमा आधारित २२१ अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा आइसकेका छन्।
विदेशी कम्पनीहरूले चीनको हरित रूपान्तरण र विकासले नवीन ऊर्जा, समुद्री जल शुद्धीकरण, हाइड्रोजन ऊर्जा लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्। यस वर्षको पहिलो पाँच महिनामा उच्च प्रविधि व्यवसायमा प्रत्यक्ष विदेशी लगानी उल्लेख्य रूपमा वृद्धि भएको छ—जसमा ई–कमर्स सेवामा १४६ प्रतिशत, एयरोस्पेस र उपकरण निर्माणमा ७४.९ प्रतिशत, औषधि निर्माणमा ५९.२ प्रतिशत र चिकित्सा उपकरण क्षेत्रमा २० प्रतिशतले वृद्धि भएको छ।
विदेशी लगानीकर्ताका लागि स्थिर र खुला नीतिगत वातावरण अत्यन्त महत्त्वपूर्ण भएको भन्दै चीनले सेवा सहजता र लक्षित रणनीति अपनाएर विदेशी कम्पनीहरूलाई अझै नयाँ अवसरहरू प्रदान गर्दै जाने जनाएको छ। यो सम्मेलन चीन र विश्वबीचको आर्थिक सहकार्य अझ सुदृढ हुने सङ्केतका रूपमा हेरिएको छ।
–एजेन्सी