काठमाडौँ । सन् १९४८ मा जब इसराइलको स्थापना भयो, मुस्लिम बहुल मुलुकहरूमध्ये तुर्कीपछि दोस्रो देशका रूपमा इरानले इसराइललाई मान्यता दिएको थियो। त्यो बेलाको इरान, अमेरिका निकट राजा पहलवीको अधीनमा रहेको मित्र राष्ट्र थियो। तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि ईरान र इसराइलबीचको सम्बन्ध शत्रुतामा परिणत भयो।
तेहरानमा अयातुल्लाह खुमैनीको नेतृत्वमा स्थापित नयाँ इस्लामी गणराज्यले इसराइलसँग सम्पूर्ण कूटनीतिक सम्बन्ध विच्छेद गऱ्यो। तेहरानस्थित इसरायली दूतावास कब्जा गरेर फलस्तीन मुक्ति संगठन (पिएलओ) लाई सुम्पियो। खुमैनीले आफूलाई "दमनमा परेकाहरूको रक्षक" घोषणा गर्दै इसराइल र अमेरिका जस्ता पश्चिमी साम्राज्यवाद विरुद्धको नीति अख्तियार गरे।
समयसँगै इरानले आफूलाई क्षेत्रीय इस्लामी शक्ति बनाउने रणनीति अघि बढायो। यस क्रममा उसले लेबनानको हिजबुल्लाह, सिरिया, इराक र यमनमा आफ्ना घटकहरू मार्फत प्रभाव बढायो। ईरानको यस्तो विस्तारवादी गतिविधिलाई इसराइलले आफ्ना लागि प्रत्यक्ष खतरा मानेर गोप्य रूपमा प्रतिकार गर्न थाल्यो।
यसै क्रममा जुन १३ मा इसराइलले ‘अपरेशन राइजिङ लायन’ नाम दिँदै तेहरान, नताञ्ज र इस्फहानमा रहेका इरानका सैन्य तथा परमाणु केन्द्रहरूमा आक्रमण गऱ्यो। जवाफी रूपमा इरानले पनि ड्रोन र ब्यालिस्टिक मिसाइलमार्फत इसराइलका सहरहरूमा प्रहार गर्यो।
हाल दुबै देशबीच सीधै लडाइँ नभए पनि, दशकौं यता चलेको 'छायाँ युद्ध' खुलेर आक्रमणमा बदलिएको छ। ईरानको भनाइमा, उसले परमाणु कार्यक्रम नागरिक प्रयोजनका लागि सञ्चालन गरिरहेको हो। तर इसराइलको दाबी अनुसार ईरानको यो कार्यक्रम लुकीछिपी आणविक हतियार निर्माणका लागि हो, जुन उसको अस्तित्वमै खतरा बन्न सक्छ।
यसै सन्दर्भमा, सन् २०२० मा ईरानी वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या, स्टक्सनेट साइबर हमला, र ईरानका वैज्ञानिकहरूमाथि भएका लक्षित आक्रमणहरूमा इसराइलको संलग्नता भएको अनुमान गरिन्छ।
विश्लेषकहरूका अनुसार, इरान अब इसराइललाई मध्यपूर्वको अस्थिरताका लागि प्रमुख कारक मान्छ भने, इसराइलले पनि ईरानलाई आफ्नो अस्तित्वमाथिको गम्भीर चुनौतीका रूपमा हेर्छ।
आफ्ना-आफ्ना ‘धार्मिक रक्षाको’ नाममा प्रस्तुत गरिएका यी शक्ति-संघर्षहरू अब तेस्रो मुलुकको भूमिमा सीमित नरही, सीधै आक्रामक स्वरूपमा देखिन थालेका छन्। यसले न केवल मध्यपूर्वको शान्तिमा ठूलो धक्का पुर्याएको छ, तर वैश्विक स्तरमै एक संवेदनशील द्वन्द्वको सम्भावनालाई जन्म दिएको छ।
बीबीसी हिन्दीबाट