अहमदावाद । इन्डियाको गुजरातस्थित अहमदावादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनामा परी २४१ जनाको ज्यान गएको छ। उक्त विमानमा सवार २४२ जनामध्ये एक जना मात्र बाँच्न सफल भएका छन्।
विमान इन्डियन समयअनुसार दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनतर्फ उडेको २ बजेर ४० मिनेटमै खसेर आगलागी भएको थियो। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए। बाँच्न सफल यात्री इन्डियन मूलका बेलायती नागरिक रहेको र अहिले उनको उपचार भइरहेको छ।
इन्डियन गृहमन्त्री अमित शाहले घटनास्थलको अवलोकनपछि पत्रकारहरूसँग भने, “विमानमा सवा लाख लिटर इन्धन थियो। त्यसले गर्दा आगो यति भयानक भयो कि एक जनाबाहेक सबैको मृत्यु भयो।” शव संकलनको काम लगभग सकिएको र अब डीएनए परीक्षणमार्फत मृतकको पहिचान गरिने बताइएको छ।
इन्डियन मिडियाका अनुसार यस दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि ज्यान गएको छ।
टाटा कम्पनीले मृतकका परिवारलाई जनही १ करोड रुपैयाँ क्षतिपूर्ति दिने तथा बाँच्न सफल यात्रुको पूर्ण निःशुल्क उपचार गरिने जानकारी दिएको छ। साथै, दुर्घटनाका कारण क्षतिग्रस्त घरहरू पुनर्निर्माण गरिदिने प्रतिबद्धता पनि टाटाले जनाएको छ।
दुर्घटनाप्रति इन्डियन राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। यस्तै, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारहरूले पनि समवेदना प्रकट गरेका छन्।
यो विमान दुर्घटनाले नेपाली सन्दर्भमा सौर्य एयरलाइन्सको भयावह दुर्घटनालाई स्मरण गराएको छ।
–एजेन्सी