काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको छ।
आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गरेका हुन्।
आदेश अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो।
यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।
‘मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।
यस्तै कार्यालयसँग समन्वय हुने कार्यक्रमको हकमा भने तोकिए बमोजिम हुने उल्लेख छ।
प्रशासनले यसअघि स्थान तोकेर निषेधित क्षेत्र घोषणा गरेको थियो। तर यसपालि प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाका बाँकी स्थानमा प्रदर्शन गर्न निषेध गरेको हो।
छुटे कमल थापा
काठमाडौंमा राजावादीको प्रदर्शनबाट नियन्त्रणमा लिइएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित ७ जनालाई प्रहरीले छाडेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ७ जनालाई छाडिएको हो।
राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूले भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रहरीले उनीहरूलाई प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका सात जनालाई छाडिएको भए पनि एक जनालाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ । राजीव झालाई प्रहरीले हिरासतमै राख्न लागेको हो।
झाले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेका थिए ।