काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बला केशवराव ‘वसवराज’को हत्याको विरोधमा बुधबार काठमाडौँमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा नेपालका वामपन्थी दलहरु र माओवादी दर्शनबाट प्रेरित संगठनहरुका प्रतिनिधिहरुले इन्डियाको मोदी सरकारलाई फासिष्ट (हत्यारा) भएको बताएका थिए। माइतिघरमा भएको प्रदर्शनमा असली नेपालीहरुले मोदी विरुद्ध नारा लगाएर इन्डियन सरकारको आततायी शैली अवगत गराएका थिए ।
इन्डियाको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलङगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५, तदनुसार २०८२ जेठ ७ गतेका दिन भएको भिडन्तमा मोदी सरकारले नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता हत्या गरेको थियो ।
इन्डियन सरकारले “अपरेशन कगार” नाम दिएको थियो । जस्मा गाउँगाउँ पुगेर कयौं सर्वसाधारणलाई डरत्रास देखाइएको थियो ।
कुनैबेला इन्डियाका दुर्गम गाउँदेखि शहरसम्म कम्यूनिष्ट पार्टीको प्रभाव निकै फराकिलो थियो । पछि धार्मिक अतिवादका दलहरु फैलिन थालेपछि कम्यूनिष्ट पार्टीहरु खुम्चन पुगे ।
इन्डियाको समाजमा रुढिवादी, अन्धविश्वास, महिला हिंसा, कूरीति र धार्मिक अतिवाद अन्त्य गर्न कम्यूनिष्टहरुले निकै ठुलो भुमिका खेल्दै आएका छन् ।
को हुन्, वसवराव ?
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव वसवराव, जसलाई नम्बला केशव राव (उपनामः वसवराज) भनेर चिनिन्थ्यो, २१ मे २०२५ मा इन्डियाको छत्तीसगढ राज्यको अबुझमार्ह जंगलमा इन्डियन सुरक्षाबलहरूसँगको ५० घण्टा लामो भीषण भिडन्तमा मारिएका थिए। यो भिडन्तमा उनीसहित २६ जना माओवादी लडाकुहरू मारिएका थिए, जसलाई इन्डियन गृह मन्त्रालयले माओवादी विद्रोह विरुद्धको एक महत्वपूर्ण सफलता मानेको छ। तर, गैरधार्मिक दलहरुले भने यो घटनालाई हत्याका रुपमा विश्लेषण गरिरहेका छन् ।
वसवराव ‘नम्बला केशव राव’ सन् १९५५ मा आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियन्नापेट गाउँमा जन्मेका थिए। उनी राष्ट्रिय प्रविधि संस्थान वारंगलबाट बी.टेक. गरेका थिए र विद्यार्थी जीवनमा नै रेडिकल स्टुडेन्ट्स युनियन मार्फत वामपन्थी राजनीतिमा सक्रिय भएका थिए । सन् १९७९ मा विद्यार्थी संगठनहरूबीचको झडपमा पक्राउ परेपछि उनी भूमिगत भएका थिए।
माओवादी आन्दोलनमा भूमिका
वसवरावले माओवादी आन्दोलनमा सैन्य रणनीतिकारको रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सन् २०१८ मा माओवादी पार्टीका संस्थापक महासचिव गणपति (मुप्पला लक्ष्मण राव) को राजीनामापछि महासचिव बनेका थिए।
उनको नेतृत्वमा पार्टीले विभिन्न सामाजिक जागरण, राजनीतिमा महिला अधिकार, सामाजिक अन्धविश्वास अन्त्य लगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।
वसवरावको मृत्यु माओवादी आन्दोलनका लागि ठूलो धक्का मानिएको छ। उनको निधनपछि पार्टीको नेतृत्व रिक्त भएको छ, जसले संगठनभित्र नेतृत्व संकट निम्त्याएको छ। यस घटनापछि सुरक्षाबलहरूले माओवादी लडाकुहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्, र धेरै लडाकुहरूलाई आत्मसमर्पण गर्न दबाब सृजना भइरहेको छ ।
वसवरावको निधनले इन्डियाको लामो समयदेखि चलिरहेको माओवादी विद्रोहमा निर्णायक मोड ल्याएको छ।







