काठमाडौँ । इन्डियाले पाकिस्तानमाथि बुधबार रातभर आक्रमण गरेको छ । यो आक्रमणलाई इन्डियाले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।
इन्डियाले गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई ’दुःखद’ भन्दै इन्डिया–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ’यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ, हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’
उनको यो टिप्पणी इन्डियाले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो । पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप इन्डियाले बुधबार राति पाकिस्तानतर्फ आक्रमण गरेको हो ।
बुधबार राति इन्डियन सेनाले ’अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ’आतंकवादी’ शिविरहरूमा एयर स्ट्राइक गरेको हो ।
इन्डियन सेनाले कुल ९ स्थानहरूलाई लक्षित गरिएको इन्डियन सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसैबीच पाकिस्तानी सञ्चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले इन्डियाले कोटली, बहावलपुर र मुजफ्फराबादमा इन्डियाले मिसाइल आक्रमण गरेको बताएका छन् ।
पाकिस्तानले इन्डिया हवाइ आक्रमणबाट तीन स्थानहरू प्रभावित भएको बताएको छ । पाकिस्तानी सैन्य जनसम्पर्क शाखा, इन्टर–सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी समाचार च्यानल जियो टिभीलाई यसबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
उनका अनुसार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहवलपुर प्रभावित बनेको हो ।
समाचारअनुसार पाकिस्तान प्रशासित कश्मीरको मुझफ्फराबाद नजिकैको क्षेत्रमा जोडदार विस्फोटको आवाज सुनिएको छ। घटनाको अडियो समेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाजका विस्फोटहरू स्पष्ट रूपमा सुन्न सकिन्छ।
समाचार संस्था रोयटर्सले पनि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शक्तिशाली विस्फोटहरू सुनिएको पुष्टि गरेको छ। एजेन्सीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुझफ्फराबादमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
सुतेनन् मोदी
इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल भएको प्रतिक्रिया समेत दिएका छन् ।
अप्रेसनलाई ध्यानमा राखेर मोदी रातभर नसुतेको इन्डियन संचारमाध्यमहरुले जनाएका छन् ।
इन्डियन सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको हो ।
‘अपरेशन सिन्दूर’का कारण हवाई उडानहरु अस्तव्यस्त भए । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरु डिले गरिएको छ ।
पाकिस्तानमाथि इन्डियाले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको इन्डिया विदेश मन्त्रालयले जनाएको छ ।
इन्डियाले कश्मीर घटनामा पाकिस्तानलाई दोष दिन यो आक्रमण गरेको हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।
कश्मीर घटनाको पाकिस्तानले निष्पक्ष छानविनको माग गरिरहेको छ भने इन्डियाले इन्कार गर्दै आएको छ ।
एजेन्सी