काठमाडौँ । अन्ततः लामो प्रयासपछि उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का लोडसेडिङ गर्ने योजनामा सफल हुने भएका छन् ।
खड्काले मन्त्री पदमा नियुक्ति भएदेखि इन्भटर, जेनेरेटर र सोलार प्यानलका व्यापारीलाई लोडसेडिङ गर्ने प्रतिवद्धता गरेका थिए ।
लोडसेडिङका बेला नेपालका घरघरमा प्रयोग हुने स–साना इन्भरटरको अर्बौंको व्यापार हुने गर्दथ्यो । यस वापत मन्त्रीलाई करोडौँ कमिसन आउने गर्छ ।
यही प्रलोभनमा मन्त्री खड्काले साँझमा लोडसेडिङ हुने बुधबार जनाउ गरेका हुन् । बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने दोहोर्याए ।
खड्काले यसअघि गत पुसमै लोडसेडिङ गर्ने तयारी गर्दै थिए । तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खड्काको योजना नाकाम बनाउँदै आएका थिए ।
मन्त्री खड्का अब भने संसदमै घोषित रुपमा लोडसेडिङ गर्ने तयारीको अन्तिम निर्णय सुनाउन थालेका छन् ।
उनले लोडसेडिङ कुलमानले नभई खड्काकै भाषामा भारत (इन्डिया) ले हटाएको संसदबाट जानकारी गराए । नेपालको सार्वभौम संसदबाट छिमेकी देशको प्रशंसा गर्न मन्त्री खड्काले निकै समय खर्चेका थिए । यसअघि पनि उनले प्रतिनिधि सभाबाट इन्डियालाई धन्यवाद दिनुपर्ने बताएर नेपालीको सार्वभौम शीर गिराएका थिए ।
आज राष्ट्रिय सभा बैटकमा बोल्दै मन्त्री खड्काले भने,‘अहिले पनि ८३० मेगावाट विद्युत इन्डियाबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने।
इन्डियाबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे।
’त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ’बरु यो धन्यवाद इन्डियालाई र निजी क्षेत्रलाई दिऊँ।’
कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए।
उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८३० मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए।
‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपुर्ति हुन सकेको छैन। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ’हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।’
नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको उनको दाबी छ। उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको पनि बताए।
‘खड्का लोडसेडिङ गर्न मन्त्री भएका हुन्’
खड्का उर्जामन्त्री भएदेखि लोडसेडिङ गर्ने अनेक योजनामा मात्र व्यस्त बन्दै आए । नेपाल विद्युत प्राधिकरणका एक अधिकारीका अनुसार, खड्काले लोडसेडिङ गर्न सुरुबाटै कुलमानलाई निकै दबाब दिए ।
कुलमान डेग नचलेपछि खड्का आँफै डिल गर्न कहिले इन्डिया त कहिले उर्जाका प्राविधिकहरु बोलाएर छलफल चलाउँथे ।
मन्त्री खड्काले कुलमानलाई लोडसेडिङ गर्न आदेश अहिले होइन, पुस पहिलो सातामै दिएका थिए । कुलमानले लोडसेडिङ गर्न नमानेपछि पटक पटक स्पष्टीकरण सोधिएको थियो । मन्त्री भएदेखि खड्काको कामः स्पष्टीकरण सोध्ने, कुलमान हटाउन प्रयास गर्ने
मन्त्रीको डरले नाम नलेखिने शर्तमा ती अधिकारी भन्छन्,‘हो नेपालमा विद्युत अपुग छ, तर, व्यवस्थापन मिलाएर नै सर्वसाधारणलाई सुविधा दिइएको हो ।’
कुलमानको निर्देशनमा कुनै एउटा उद्योगमा केही घण्टा विद्युत कटौती गरेर लाखौँ जनतालाई उज्यालो दिने तरिका नै गजब्ब थियो, ती अधिकारीले भने,‘न उद्योगीलाई मर्का परेको थियो, न सर्वसाधारणको घरमा कटौती ।’ लोडसेडिङ हटेपछि कयौं इन्भरटर व्यापारीहरु विस्थापित भएका थिए ।
हो तिनै इन्भरटर, जेनेरेटर जस्ता विद्युतीय सामग्रीका व्यापारीहरुको लोभमा मन्त्री खड्का परेका छन् । खड्काले नै ती व्यापारीलाई लोडसेडिङ गरिदिने बाचा गरेका थिए ।
खड्का मन्त्री भएदेखि नै लोडसेडिङको पूर्वाभ्यास गर्न थालिसकेका थिए । राष्ट्रिय समाचार डटकमले यसअघि यो बारेमा विस्तृत समाचार प्रकाशित गरिसकेको छ । लोडेसेडिङको पूर्वाभ्यास गर्न कुलमानमाथि निरन्तर टर्चर, प्राधिकरणमा माफियाको रजगज चुलिंदो !
केही दिनदेखि मन्त्री खड्काले लोडसेडिङ गर्न सम्पूर्ण तयारी सकेका छन् । उनले निकट व्यक्तिहरुलाई पार्टी वा अन्य दबाब अब भने नसुन्ने र लोडसेडिङ कुनै हालतमा गर्ने बताएका छन् ।
जन दबाबका कारण कुलमानलाई हटाउन नसकेपछि मन्त्री खड्का लोडसेडिङ गरेर कालाबजारी, जलमाफिया र बिचौलियाबाट फाइदा लिने योजनामा छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुलमानलाई नहटाउन सार्वजनिक अभिव्यक्ति दिएपछि मन्त्री खड्काले लोडसेडिङ गरेर कुलमानको बदनाम र आर्थिक लाभ लिने योजनामा लागेका हुन् । कुलमानको पूर्णाङ्कलाई छोप्न सरकारको शून्य ‘हतियार’
उर्जा मन्त्री खड्काको यो योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताले धेरैलाई आश्चार्य बनाएको छ ।
सरकारप्रति चौतर्फी विश्वास टुटिसकेको अवस्थामा मन्त्री खड्काको लोडसेडिङ अस्त्र सरकारका लागि ठुलो आत्मघाति हुने अधिकारीहरुले विश्लेषण गरेका छन् ।
तर मन्त्री खड्का भने निकटका प्राधिकरणका पूर्वएमडी सहित व्यापारीहरुलाई बोलाएर भन्ने गर्छन्,‘भोलिको राजनीति के हुन्छ थाहा छैन, आजै पदमा हुँदा आर्थिक संकलन मजाले गरियो भने व्यक्तिगत राजनीति मर्देन ।’
मन्त्री खड्काको बैठकमा सहभागी ती अधिकारीका अनुसार, लोडसेडिङ गर्न मन्त्री ज्यू बारम्बार इन्डियन उर्जा अधिकारी र नेपालका जलविद्युत लगानीकर्तासँग धेरै छलफल चलाउनुभयो ।’
अन्ततः विद्युत अपुग देखाएर मन्त्री खड्का लोडसेडिङ गर्न सफल हुनु भएको ती अधिकारीले जानकारी दिए ।
यसअघि पनि हरेक वर्ष विजुली पर्याप्त भएर लोडसेडिङ हटेको होइन, कुलमानको कुशल व्यवस्थापनले सर्वसाधारण जनतालाई मर्का नपार्ने योजना मुताविक लोडसेडिङ हटेको हो ।’