काठमाडौंँ, जेठ १८ गते । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दुई पार्टीको एकतापछि जनवर्गीय संगठन तथा अन्य कमिटीको एकीकरणका लागि अन्तरपार्टी निर्देशिका जारी गरेको छ । निर्देशिकाले जनवर्गीय संगठनको एकीकरणका लागि तीन महिनामा अधारभूत कार्य सम्पन्न गर्न समय समेत निर्धारण गरेको छ ।
निर्देशिकामा पार्टीले निर्वाचन आयोगमा प्रस्तुत गरेको घोणापत्र, अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । उहाँहरूले १५ दिन भित्र घोषणापत्र, विधान र राजनीतिक प्रतिवेदन सम्पादन गरी केन्द्रीय कार्यालयले प्रकाशन तथा वितरण गर्नेछ ।
पार्टीको केन्द्रीय कार्यालय पहिलेकै धुम्बाराही र पेरिसडाँडामा रहने भएको छ । कार्यालयको प्रयोग सञ्चालन सम्बन्धमा दुबै अध्यक्षले निर्णय गर्ने, साथै दुबै कार्यालयमा दुबै अध्यक्ष र महासचिवको कार्यकक्ष रहने तथा केन्द्रीय सचिवालय धुम्बाराहीमा रहने र केन्द्रीय विभागहरू पेरिसडाँडामा रहने निर्देशिकमा उल्लेख छ ।
निर्देशिकमा स्थानीय पार्टी कमिटीहरूको एकता/एकीकरणका लागि सातवटा प्रदेश, प्रवास र जिल्ला संगठन कमिटिका लागि बेग्ला बेग्लै कार्यदल गठन गरि उनीहरूका लागि कार्यादेश समेत तय गरिएको छ ।
निर्देशिकामा ऐतिहासिक पार्टी एकतासँगै राजनीतिक अस्थिरता र अनिश्चयको अन्त्य भएको र पार्टीसामू संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, तीब्र आर्थिक विकास गर्दै जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएको उल्लेख छ ।
निर्देशिकामा आगामी दिनमा पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नु पर्ने, पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवं व्यवस्थित गर्नुपर्ने, पार्टीमा कुनै पनि प्रकारको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृति प्रकट हुन नपाऊन् भनेर होसियार रहनु पर्ने विषय उल्लेख गरिएको छ ।
साथै निर्देशिकामा सबै समस्याहरूको विधिसम्मत् समाधन खोज्ने प्रणालीलाई सबल बनाउँदै जानु पनर्,े सबै तहका सरकार तथा जनप्रतिनिधि संस्थाहरू जनता र राष्ट्रको सेवामा परिणामदायी ढंगले परिचालित हुुनु पर्ने, पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूका साथै सबै तहका सरकार र जनप्रतिनिधिको आचरणलाई पारदर्शी, सदाचारयुक्त र जनप्रिय बनाउनु पर्ने विषय उल्लेख छ ।
निर्देशिकामा आफैँले सचेत ढंगले निर्माण गरेको शक्ति र तयार गरेको अनुकूल परिस्थितिलाई देश र जनताको पक्षमा सदूपयोग गर्न र जनता र राष्ट्रको उज्जल भविष्य सुनिश्चित तुल्याउन समर्पित भएर लाग्न सबैलाई आग्रह गरिएको छ ।
निर्देशिकमा पार्टी एकीकरणका लागि प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्री कुमार काफ्ले रहनु भएको कार्यदल गठन गरिएको छ भने प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह रहनु भएको छ ।
त्यस्तै, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल, प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी, प्रदेश ५ मा शंकर पोख्रेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहनु भएको कार्यदल बनाइएको छ ।
प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा तथा प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी रहनुभएको कार्यदल गठन गरिएको छ ।
प्रवासमा कमिटीहरूका लागि नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठकको कार्यदल बनाइएको छ । जिल्ला संगठन कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने बैठकमा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका इन्चार्ज तथा अध्यक्ष पनि कार्यदलको सदस्यको हैसियतमा सहभागी हुने निर्देशिकमा जनाइएको छ ।
साथै निर्देशिकाले प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूको नामावली सहितको प्रस्ताव तयार गर्ने, प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्नका लागि (कमिटीको कूल सदस्य संख्याको बढीमा एक तिहाई) नामावली सहितको प्रस्ताव तयार गर्ने कार्यादेश तय गरेको छ ।
कार्यादेशमा प्रदेश संगठन कमिटी गठन सम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका सदस्यको नाम समावेश नगर्ने, कमिटीका लागि पदाधिकारी तथा सदस्यहरूको छनोट गर्दा बरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने, प्रदेश तथा जिल्ला संगठन कमिटीको कार्यालय निर्धारण गर्ने उल्लेख छ ।
यसरी सिफारिस वा निर्णय गर्दा साविक नेकपा एमाले) र नेकपा (माओवादी केन्द्र)का सम्बन्धित कमिटीमा रहनुभएका व्यक्तिहरूको पनि राय सुझाव लिने तथा सबै काम आपसी सहमतिमा १५ दिनभित्र सम्पन्न गरी केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउनु पर्ने कार्यादेशमा छ ।