काठमाडौँ । काठमाडौँको वडा नं १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।
रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गरेका छन् ।
एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाए। नेकपा एकीकृत समाजवादी (एस) का मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँदा अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याए।
विजयी भएसँगै श्रेष्ठ काठमाडौँ महानगरपालिकाको एक मात्र महिला वडाअध्यक्षको रूपमा पनि स्थापित भएकी छिन् ।
रास्वपाका लागि तीन सन्देश
देशभरबाट प्राप्त उपनिर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि तीन सन्देश दिएर गएको आंकलन गर्न सकिन्छ ।
काठमाडौँको वडा नं १६ मा जीत र दुर्गम क्षेत्रमा हारले रास्वपालाई तीन सन्देश हुन सक्छन् ।
पहिलो, सुगम क्षेत्रमा रास्वपा नागरिकबीचमा परिचित बनेको छ ।
दोस्रो, दुर्गम क्षेत्रमा रास्वपाले आफ्नो परिचय बोकेर जानै बाँकी रहेछ । र तेस्रो, रास्वपाको लोकप्रियता अझै कायम छ ।
पार्टी नेतृत्वमाथि लागेको विभिन्न आरोपले रन्थनिएको रास्वपा चुनावी प्रचारमा ध्यान केन्द्रीत हुन पाएको थिएन ।
न यो पार्टीले सबै स्थानमा उम्मेदवार उठाउन सक्यो, न व्यापक चुनावी तयारी नै । सभापति रवि लामिछाने थुनामा परेपछि रास्वपाको सम्पुर्ण शक्ति यतैतिर मोडियो ।
दिनहुँ सभापतिको रिहाईका लागि खर्चेको पार्टी समाथ्र्य चुनावभन्दा अन्यत्र मोडिन पुगेको थियो । अर्कोतिर, मतदाता र नागरिकबीचमा पार्टीको प्रभावशाली व्यक्तिको अभावको भएको देखिन्थ्यो ।
सामाजिक संजालमा हुने रास्वपा समर्थितहरुको अभद्र र अर्मादित टिप्पणीले पनि यो पार्टीलाई ठुलो नोक्सान पुर्याएको देखिन्छ ।
जो मतदाता नै छैनन्, उनिहरुको अभद्रता र उत्तालो शैली रास्वपाका लागि यो उपनिर्वाचनमा नोक्सानको कारण बन्यो । पार्टीले यी सबै असभ्यता रोक्न र अनुशासनका बिधिलाई कायम राख्न सकेन ।
हुन त, यो उपनिर्वाचनले राजनीति शक्तिमा कुनै फेरबदल ल्याउने छैन । तर, ०८४ सालको चुनावी परिणामलाई केही न केही संकेत छोडेर गएको छ ।
रास्वपाको हकमा भने यो पार्टीले अझै राजनीतिक चरित्र निर्माण गर्न धेरै बाँकी छ । व्यापक आलोचनाकाबीचमा पनि काठमाडौँ १६ को विजयी भने रास्वपाका लागि सुखद संकेत हो ।