बिहार । ब्रत बसेर मनाईने चाड छठ इण्डियाको बिहार, झारखण्ड र उत्तर प्रदेशमा आजदेखि सुरु भएको छ ।
मुख्य रुपमा इण्डियामा मैथिली र भोजपुरी भाषा बोल्ने अधिकांश नागरिकले यो ब्रत बस्छन् । उपासनामा आधारित छठ मनाउने व्यक्ति भोकै (व्रत) बस्न सक्नुपर्छ ।
इण्डियन संचारमाध्यमका अनुसार, यो उपवास हो, जहाँ भोकै बसेर महिलाहरुले साधना गर्नुपर्छ । इण्डियाको सिक्किम, दार्जिलिङ, अरुराञ्चल, मिजोरम, मणिपूर, गोवा, जम्मू , कश्मिर लगायत साउथ इण्डियन क्षेत्रमा छठ मनाउने चलन छैन ।
बिहारका अधिकांश नागरिकले छठ मनाउने गर्छन् । इण्डियामा छठको दिन सबै राज्यमा सरकारले बिदा दिंदैन । दिल्ली सहित उत्तर प्रदेश, बिहार , पश्चिम बंगालको कलकत्ता क्षेत्र र झारखण्डमा राज्य सरकारले बिदा दिने चलन रहि आएको छ ।
यो कडा उपवास हो, जहाँ पानी पनि खान मिल्दैन । इण्डियामा यो व्रतलाई बिहारमा हिन्दुले मनाउने पर्व भन्ने गरिन्छ । नदि, पोखरी र जलाशयमा उदाउँदो र अस्ताउँदो सूर्यलाई पूजा गरेर छठ मनाउने गरिन्छ ।
नेपालको इण्डियासँग सिमाना जोडिएका क्षेत्र र मधेश प्रदेशमा बस्ने मैथिली भोजपुरी भाषा बोल्ने नागरिकले छठ मनाउँछन् ।
पछिल्ला वर्षहरुमा मैथिली र भोजपुरी भाषा बोल्ने नागरिकहरु भएका अन्य स्थानमा पनि छठ मनाउन थालिएको छ । व्रत बस्ने महिलाले शुद्ध धोती लगाएर पूजामा सहभागी हुन्छन् ।