काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्कंदै गएपछि लेबनानमा कार्यरत घरेलु महिला श्रमिकहरू त्रसित बनेका छन । असुरक्षा बढ्दै गएपछि उनीहरू रोजगारदातामाथि नै पूर्ण रूपमा आश्रित हुनुपर्ने अवस्था बन्दै गएको छ । तत्काल लेबनान छाडिहाल्ने मनस्थिति नबनाए पनि उनीहरू सुरक्षाका लागि रोजगारदाताले लैजाने ठाउँमा स्थानान्तरण हुन तयार भएर बसेका छन् ।
गत सोमबारदेखि हेजबुल्लाह र इजरायली सेनाबीच लडाइँ चर्किएको हो । इजरायली सेना हेजबुल्लाहको नियन्त्रण रहेको लेबनानी भूमिमा प्रवेश गर्ने तयारीमा छ । इजरायलको शृंखलाबद्ध हवाई आक्रमणबाट चार दिनभित्र लेबनानमा मृत्यु हुनेको संख्या कम्तीमा ५ सय ६९ पुगिसकेको छ ।
अहिले सुरक्षाका लागि लेबनानको दक्षिणी क्षेत्रबाट राजधानी बेरुत र सीमा काटेर सिरिया जाने लेबनानीहरूको संख्या बढिरहेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर) का अनुसार पछिल्लो युद्धबाट अहिलेसम्म ९० हजार विस्थापित भएका छन । तीमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी सिरिया पुगेका छन । साथै १७ हजार सिरियाली शरणार्थीहरू सिरिया फर्केका छन ।
कान्तिपुर दैनिक लेख्छ ।’ नेपाली श्रमिक मञ्जु मोक्तानले बेरुतको सुरक्षा अवस्था हेरेर रोजगारदातासँगै ठाउँ सर्ने योजना रहेको बताइन । ‘हामी बेरुतमै छौं । सुरक्षित छौं तर डर छ । बेरुतमा असुरक्षा बढेमा युद्ध नहुने पहाडको घरमा गएर बस्ने योजना छ,’ उनले भनिन्, ‘रोजगारदाताका छोरा–बुहारी भने पहाडको घरमा गइसकेका छन ।’
नेपाली घरेलु श्रमिकहरूले तत्काल नेपाल फर्किहाल्ने योजना बनाइनसकेको बताए । ‘रोजगारदाताले केही हुँदैन नै भनिरहेका छन् । हामीलाई धेरै डर देखाइएको छैन । हामी युद्ध चर्केको ठाउँबाट त टाढै हो भन्छन् । केही भए त हामी पठाउँला भनिरहेका छन्,’ श्रमिक माया तामाङले भनिन्, ‘विमानस्थल पनि बन्द छ । नेपालबाट छिटो आऊ भनेर फोन गरिरहेका छन् । के गर्ने ? के नगर्ने कुरा बुझ्नै सकिरहेकी छैन ।’
तामाङले ‘लेबनानको माहोल (समाचार) हेर्दा आफ्नो ज्यान नै जिरिंग हुने गरेको बताइन् । उनले भनिन्, ‘समाचार हेर्दा डरका कारण मुटुले ठाउँ छोडिसक्यो । यो युद्ध पहाडतिर पनि हुन थाल्यो भने घरतिर नै फर्कनुपर्ला ।’ इजिप्टस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब सात सय नेपाली कार्यरत छन । (कान्तिपुर दैनिक)