काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।
रिपोर्ट क्लबमा आयोजित साक्षात्कारमा थापाले प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु देखिएकोले सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको सर्वसत्तावादी उन्मुख भएको बताएका हुन् ।
राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको थापाको आरोप छ ।
अध्यक्ष थापाले भेनेजुएलामा ह्युगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेको चर्चा गरेका छन् । उनले संविधान बमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्नपनि गाह्रो नहुने, मिडियाले पनि चुईंक्क पनि बोल्न नसक्ने, व्यापारीहरुको हालत त्यही हुने भन्दै यो सर्कल अब नेपालमा सुरु हुन लागेको बताएका छन् ।
थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे । उनले चेतावनीको स्वरमा भने‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामाथि आक्रमण गर्छ, नक्कली समस्या खडा गर्छ, मिडियापछि व्यापारीहरुलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ, सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्र लगायतका क्षेत्रहरुलाई पार्टीकरण गर्न उद्धत रहेको आशंका बढेर गएको छ।’
उनले नेपालमा निवाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदै गरेको आरोप लगाए । संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठीक भएपनि नागरिक अभिनन्दन गरिनु गलत भएको थापाको तर्क छ । संविधान जारी गर्दा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएकोले त्यो पीडा नेपालीहरुले अझैसम्मपनि विर्सन नसकेको अवस्थामा मोदीलाई अभिनन्दन गरिनु अनावश्यक भएको उनको तर्क छ ।
भारतले नेपालको संविधान अपूर्ण र समावेशी नभएको भनेर विश्वभरि नै योजनावद्ध रुपमा प्रचार अभियान चलाएको समेत उहाँले स्मरण गराउनु भयो । उहाँले मोदीले भारतले लगाएको आर्थिक नाकाबन्दीको बारेमा दुःख समेत व्यक्त नगर्नु आश्चर्यको विषय भएको बताए ।
अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चूनौतीको रुपमा देखा परेको बताए । यी सबै चूनौतीको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दूराष्ट्रको पूर्नस्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरुका बीचमा एकता अनिवार्य आवश्यक रहेको थापाको ठहर छ ।
२०७५ फागुन ७ गतेबाट हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि निर्णायक जनसंघर्ष गर्ने बताउँदै अध्यक्ष थापाले यसको लागि वारपारको जनसंघर्ष हुने जिकिर पनि गरे ।