प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । कार्यकक्ष अभाव भएपछि सिंहदरबारभित्रै प्रधानमन्त्री कार्यालयले कोठा खोजेको छ ।
प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री कार्यालयमा ५ सचिव रहने गरी ११ वटा महाशाखाअन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा नयाँ थपिएका हुन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीकै रुचीमा कार्यालयअन्तर्गत नतिजा व्यवस्थापन महाशाखा बनेको छ । यो महाशाखाले सबै मन्त्रालयले बजेट खर्चअनुसार कस्तो परिणाम दिएका छन् अनुगमन गर्नेछ । शासकीय सुधार महाशाखाअन्तर्गत राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलाई राख्ने गरी तयारी भइरहेको छ ।
कार्यालय अभाव भएपछि खोज्न सिंहदरबार पुनर्निर्माणलाई पत्राचार गरिएको समाचारमा उल्लेख छ ।
महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् । भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।
नयाँ पत्रीका दैनिकबाट